असार १३, खोटाङ - धान काटेर गाइवस्तुलाई घाँस (भिडिओ सहित) असार १३, खोटाङ– किराको प्रकोपका कारण धान नपसाएपछि खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका किसानले धान काटेर गाईवस्तुलाई खुवाउन थालेका छन्।
खाइनखाई दश नंग्रा खियाएर रोपेको वर्षे धानमा लाइजस्तो देखिने साना–साना कालो रंगको किराको प्रकोप फैलिएका कारण धान पसाउन नसकेपछि किसानले काटेर गाईवस्तुलाई घाँस दिन थालेका हुन्। जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको सिमाबाट बग्ने सावा खोलाको किनारका खेतमा लगाइएको धानको उत्पादन ‘शुन्य’ बनेको स्थानीय किसान जितबहादुर कार्कीले बताउनुभयो।
खेतमा कुनै कुनै बोटमा मात्र फाट्टफुट्ट धानको बाला लागेको छ । धान रोप्न गरिएको मेहनत खेर गएपछि किसान चिन्तित छन्। नपसाएको धानको बोट धेरैजसो किसानले काटेर घाँस बनाइरहेका छन् । कतिपय किसानले भने बिउ आउने आशामा त्यसै छाडेका छन् । सावा खोला किनार आसपासमा खेत भएका १५÷२० घर किरानको खेतमा लगाइएको धानमा किराको समस्या देखिएको हो।
किराको कारण चिसापानी खुटाका जितबहादुर सहित गोबिन्द अधिकारी, चन्द्रबहादुर पौडेल, कृष्ण खड्का, उमेश नेपाली, सुमन खड्का, जितबहादुर बिक, रमेश तामाङ लगायतका खेत बाँझिएको छ। १०÷११ घर किसानको भने धानको बिउ नै मासिएको छ।
सो क्षेत्रका करिब तीन सय रोपनी खेतका धान नपसाउँदा किसानमा भोकमरीको चिन्ता सुरु भएको स्थानीय युवा नेता बाजिन्द्र बिष्टले बताउनुभयो। सावा खोला किनार आसपासका खेतमा मात्र नभएर कतिपय खोलाभन्दा माथिका खेतमा समेत समस्या देखिएको छ।
बिष्टले पाक्नुभन्दा महिना दिनअगाडि नै धान काटेर घाँस खुवाउन बाध्य अवस्थाका किसानको पहिचान गरि राहत तथा क्षतिपूर्तीको व्यवस्था गर्न स्थानीय सरकार समक्ष माग गर्नुभएको छ।
भिडिओ सौजन्य : बाजिन्द्र विष्ट
https://www.facebook.com/messenger_media/?thread_id=100035436763818&attachment_id=586336836088504&message_id=mid.%24cAAAAD4TAiOGAaONANF6N582jIp8k