असार ५, काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने बताएका छन्। पार्टीका प्रदेश एकका आफ्नो समूहका केन्द्रीय सदस्यहरूसँग देउवाले आफू आगामी महाधिवेशनमा उम्मेदवार बन्ने विचार गरेको भन्दै, सुझाव मागेका हुन्।
छलफलमा सहभागी केन्द्रीय सदस्य मीन विश्वकर्माले देउवाले आफ्नो १४ औं महाधिवेशनमा सभापति बन्ने चाहना रहेको भन्दै सघाउन आग्रह गरेको जानकारी दिए। ‘सभापतिमा मैले पनि विधानले दिएको कुरा गर्नै पर्ने होला।
मेरौ जिम्मेवारी पनि छ। राष्ट्रिय राजनीतिमा सबैको समन्वयकारी भूमिका कांग्रेसले गरिरहेको छ। मैले गरिरहेको छु,’ देउवाको भनाइ उध्रित गर्दै विश्वकर्माले भने, ‘पार्टीमा मैले गर्नु पर्ने थुप्रै काम बाँकी छन्। पहिलेको अवस्थामा पनि त्यति राम्ररी काम गर्न पाइएन।
तसर्थ मैले उम्मेदवार बन्ने विचार गरेको छु, के गर्ने?’ कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ। त्यसपछि महाधिवेशनका सन्दर्भमा र आफ्नो तयारीका सन्दर्भमा देउवाले छलफल सुरु गरेका हुन्।
आफ्नै निवास बुढानीलकण्ठमा भएको छलफलमा देउवाले आफ्ना कमीकमजोरीलाई औपचारिक कार्यक्रममा नभइ, अनौपचारिक कार्यक्रममा औल्याइदिन नेताहरूलाई आग्रह गरेका थिए। ‘पार्टीमा देखिएका कमीकमजोरीलाई औपचारिक बैठकमा भन्दा अनौपचारिक बैठकमा औल्याइदिनुस् म सच्याएर अधि बढ्छु,’ देउवाको भनाइ उध्रित गर्दै विश्वकर्माले भने ।
विश्वकर्माका अनुसार छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, विश्वकर्मा, भिष्मराज आङ्दम्बे, सिता गुरुङ, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, डिला संग्रौलालगायत उपस्थित थिए।
देउवाले यसपछि मौका मिलाएर प्रदेशपिच्छे नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन्। देउवाको सचिवालयका अनुसार पार्टी सभापति भएकाले आफूलाई विश्वास लागेका नेताहरूसँग देउवाले महाधिवेशनबारे छलफल गरेका हुन् ।
त्यो छलफल अब निरन्तर रहने बताइएको छ। तर, देउवाबाहेकका सभापतिका आकंक्षी नेताहरुलाई भने तनाव सृजना भएको एक स्रोतले बतायो।
उनीहरु देउवाले सभापतिमा यस पटक उम्मेद्वारी नदिने होलान भन्नेमा विश्वस्त थिए स्रोतले भन्यो । तर, एक्कासी देउवाले सभापतिको उम्मेद्वारी दिने संकेत गरेपछि सभापतिका आकंक्षीहरु अर्कै रणनीतिमा लागेको बताइएको छ।