खोटाङ- कानूनी प्रक्रिया पूरा नगरी अन्त्येष्टि गरिएको दिदीभाईको शव उत्खनन गरी पोष्टमार्टम गर्न अस्पताल ल्याइएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापातेलका गोविन्द बस्नेतको ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराजको शव उत्खनन गरी पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेल पठाईएको प्रहरीले जनाएको छ।
घरमा कोही कसैलाई जानकारी नगराइ साउन २२ गते अन्य चारजना साथीहरुसँग पौडी खेल्न साप्सुखोला गएकोमा उनीहरु बेलुकीसम्म घर नफर्केपछि अभिभावकहरुले खोजतलास गर्दा राती १२ बजे चेपा भिरबाट एक हजार मिटर तल खरुवा खोलामा खसेर पानीमा डुबेको अवस्थामा मृत भेटिएका दुवैजनाको शव फेला परेको थियो।
उनीहरुसँगै गएका अन्य चारजना भने सकुशल रहेका छन्।
दुवै शवलाई मृतकको घरदेखी तीन किलोमिटर दक्षिणमा पर्ने लाफेटारमा साउन २३ गते खाल्डोमा गाडी सकेको भनि प्रहरीमा साउन २४ गते अपरान्ह साढे ३ बजे जानकारी हुनसाथ प्रहरी चौकी दिप्रुङ चुइचुम्माबाट प्रहरी टोली खटी गई घट्नास्थल सुरक्षित राखेको थियो।
घट्नाका विषयमा थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी टोली खटी गई शवको कानूनी प्रक्रिया पश्चात आज पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए।