• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


`इन्द्रले बाण हानेर उत्पत्ति गरेको खोटाङको इन्द्रेणीपोखरी’ स्थानीय सरकारले २ करोड बढी खर्च गरेर सुकायो

`इन्द्रले बाण हानेर उत्पत्ति गरेको खोटाङको इन्द्रेणीपोखरी’ स्थानीय सरकारले २ करोड बढी खर्च गरेर सुकायो

images

प्रभाव न्यूज

६ बैशाख २०८२
  • 20.2K
    SHARES
  • images
    `इन्द्रले बाण हानेर उत्पत्ति गरेको खोटाङको इन्द्रेणीपोखरी’ स्थानीय सरकारले २ करोड बढी खर्च गरेर सुकायो
    images
    images
    images

    खोटाङ - खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ परापूर्वकालमा इन्द्रले वाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ ।

    images

    ठूला चउर र घाँसेमैदानको बीचमा अवस्थित पर्यटकीयस्थल इन्द्रेणीपोखरीको नामबाटै उक्त वडाको नाम इन्द्रेणीपोखरी राखिएको स्थानीय जानकारहरुले बताउने गरेका छन् ।

    प्राकृतिकरुपमै पर्यटकीयस्थल रहेको इन्द्रेणीपोखरीको चौतर्फी विकास गर्न देशमा सङ्घीयता लागूभएसँगै स्तरोन्नतिको काम थालियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहको सरकारले रु दुई करोड १२ लाखभन्दा बढी रकम खर्च गरेको छ ।

    वर्षौँदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) रहेको इन्द्रेणीपोखरीमा हरेक सालको नयाँ वर्ष (वैशाख–१ गते) बृहत मेला लाग्ने गर्दछ ।

    images

    समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको प्राकृतिक पोखरी (इन्द्रेणीपोखरी)को स्तरोन्नति गर्न भूइँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षण गर्नका लागि घेराबार निर्माणको काम गरिएको छ । इन्द्रेणीपोखरीको नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरी निर्माण गरिएको छ ।

    images

    पर्यटन प्रवद्र्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नति गरिएको इन्द्रेणीपोखरीमाथि इन्द्रेणीको स्वरुप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृतिसमेत राखिएको थियो ।

    राज्यकोषको रु २० लाख रकम खर्चेर निर्माण गरिएको इन्द्रेणीपोखरीमाथि राखिएको इन्द्रेणीको आकृति गत वर्षको हावाहुरीले ढालेपछि पुनः राखिएको छैन ।

    फरक–फरक समयमा फरक–फरक शीर्षकमा गाउँपालिकाबाट इन्द्रेणीपोखरीको स्तरोन्नति गर्न योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरिएको हो । चारैतिर बस्तीको बीचमा पर्ने इन्द्रेणीपोखरीलाई थप सुन्दर र मनमोहक बनाउँदै पर्यटक भित्र्याउन गाउँपालिकाले थालेको पहलप्रति स्थानीयवासीसमेत हर्षित भएका थिए ।

    तर, प्राकृतिकरुपमा बनेको इन्द्रेणीपोखरीको भूइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौँदेखि जम्मा भएको पानी सुकेको छ ।

    विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली श्रृङ्खला तथा तराईका फाँटहरु अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको थियो ।

    स्तरोन्नतिको काम गरिएसँगै पोखरीको पानी सुकेपछि स्थानीयवासी निराश बनेका छन् । प्राकृतिक संचनालाई स्तरोन्नति गर्नेक्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय इन्द्र नारथुङ्गेले बताउनुभएको छ ।

    “राज्यकोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ । इन्द्रेणीपोखरीको स्तरोन्नति गर्दा सावधानी अपनाउन सकिन”, उहाँले भन्नुभयो, “बिना अध्ययन इन्द्रेणीपोखरीमा संरचना निर्माण गर्दा प्राकृतिक पोखरीको पानी नै सुकेको छ । यसले इन्द्रेणीपोखरीको ऐतिहासिकता नै सङ्कटमा परेको छ ।”

    इन्द्रेणीपोखरीबाट धार्मिक तथा पर्यटकीयस्थल बरापोखरी, उत्तर पूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोलढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीयस्थलहरु जोड्न सडकमार्गसमेत निर्माण गरिएको छ ।

    राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणीपोखरीमा बाहै्र महिना वनभोज खाने र दृष्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पोखरीको पानी नै सकेपछि समस्या भएको स्थानीयले बताएका छन् ।

    इन्द्रेणीपोखरीमा प्रदेश सरकारको रु ४० लाख तथा खोटाङबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईको संसदीय विकास कोषको रु २० लाख रकम खर्च भएको छ ।

    खोटेहाङ गाउँपालिकाका तत्कालीन प्रमुख प्रदीपकुमार राई नेतृत्वको स्थानीय सरकारले पर्यटन प्रवद्र्धन शीर्षकको योजना बनाएर पटक–पटकगरी रु एक करोड ५२ लाख बढी बजेट विनियोजन गरेर खर्च गरेको हो ।

    पर्यटन प्रवद्र्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको ठूलो लगानीमा स्तरोन्नति गरिएको इन्द्रेणीपोखरीमा पानी सुकेपछि लामो समयदेखि उपयोगविहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभएको छ । “इन्द्रेणीपोखरीमा कुनै पनि मुहान छैन।

    प्राकृतिकरुपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नति गर्ने गर्नेक्रममा गरिएको ढलानसमेत चिरा–चिरा भएर फुटेको छ। अन्यत्रबाट पानी ल्याएर लगाउने सम्भावना पनि छैन”, उहाँले भन्नुभयो, “स्तरोन्नति गरिएको इन्द्रेणीपोखरीको पानी सुकेपछि राज्यकोषको ठूलो लगानी खेर जाने अवस्थामा छ ।

    यसलाई उपयोगमा ल्याउनका लागि गाउँपालिकाको बजेटले सम्भावना छैन।” दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहहरुले पनि आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति गरिरहेका छन् ।

    त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, टेम्के, जन्तेढुङ्गा, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुले लगायतका धार्मिक तथा पर्यटकीयस्थलहरु स्तरोन्नतिको काम शुरु गरिएको हो । 

    images
    images

    प्रकाशित :बैशाख ६, २०८२ शनिवार - २२:५६:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij