जनकपुरधाम– भारतको पञ्जाबमा बन्धक बनेर २५ वर्षपछि फर्किएका चलितर महतोले नागरिकता पाएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय धनुषाको टोलीले बटेश्वर गाउँपालिका वडा नं १ कार्यालयमा आज एक कार्यक्रम बीच नागरिकता उपलब्ध गराएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले चलितरलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता पाएपछि चलितर खुसी भएका छन्। उनले अब आफ्नो बाँकी र पारिवारिक जीवन सुख(दुस्ख गरी बिताउन सहज हुने बताए ।
‘मेरो जीवनको दुई दशकभन्दा बढी बन्धकमा बित्यो । बाहिर जानेबेला नागरिकता थिएन । मेरो अनुपस्थिति र नागरिकता नहुँदा मेरो परिवार बालबच्चालाई अथाह दुख पीडा भोग्नुपर्यो। यो नागरिकताले मेरो र परिवारको जीवन सहज हुने छ’ चलितरले खुसी हुँदै भने’ नागरिकता उपलब्ध गराइदिनुहुने सिडिओसहित सबैप्रति आभार व्यक्त गर्छु ।’
प्रमुख जिल्ला अधिकारी कडरियाले वर्षौं पीडादायी जीवन बिताएर फर्केको नागरिकलाई वडा कार्यालयमै आएर नागरिकता दिन पाउँदा भाग्यमानी ठानेको बताए ।
उनले चलितरको बाँकी जीवन नागरिकताले सहज बित्ने विश्वास व्यक्त गरे ।
चलितरको नागरिकता प्राप्तिको लागि कागजी प्रक्रियामा सहयोग गर्नेहरुप्रति धन्यवाद ज्ञापन गरे । उनको नागरिकताको लागि कागजी प्रकियामा वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार महतो, एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री सत्रुधन महतो, वडा सचिव कौशल महतोले सहयोग गरेका थिए । चलितरका दाइ जगदीश महतोले सनाखत गरेका थिए ।