मकुना नामको एउटा वन हात्तीलाई गोली हानेर मारियो । चितवनर राष्ट्रिय निकुञ्जकै अनुसार उनीमाथि ६ राउन्ड गोली हानिएको थियो । किन एउटा हात्तीको यति क्रुरतापूर्वक ज्यान लिइयो ?
निकुञ्ज अधिकारीको तयारी जवाफ छ, ‘आत्मसुरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आयो । उक्त गोली लागेर मकुनाको मृत्यु भयो ।’
तर, पशु अधिकारका क्षेत्रमा आवाज उठाइरहेकाहरुले यसमा चित्त बुझाएका छैनन् । उनीहरुले एउटो जंगली हात्तीमाथि कुनियतले गोली चलाएर हत्या गरिनु सामान्य अपराध नभएको तर्क गरेका छन् । र, सामाजिक सञ्जालमा ‘मकुनालाई न्याय देऊ’ भनी अभियान चलाएका छन् ।
पूर्व संचारकर्मीसमेत रहेका प्रभात रिमाल लेख्छन्, ‘तेस्रो विश्वका कहलिएका वीर गोर्खालीले एउटा निहत्था हात्तीलाई गोली हानेर मारेछ । वाह ! क्या बहादुरी ?’
चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहितको टोलीमाथि जाइलागेपछि तर्साउन प्रहार गरिएको गोलीबाट मकुनाको मृत्यु भयो ।
कुमरोज मध्यवर्ती सामुदायिक वनको लामीताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो । तर, उसलाई कोर क्षेत्रतर्फ पठाउन सेनाले गोली चलाउँदा मृत्यु भएको विज्ञप्ति निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बुधबार निकाले ।
हात्ती स्वीप गस्ती टोलीले ‘स्वीपिङ गस्ती’ गर्दै जाने क्रममा माकुना फेला परेपछि गोली हान्नुको विकल्प नभएको दाबी गरेका छन् । तर चितवन राष्ट्रिय निकुञ्जको विज्ञप्तिमा भने माकुनामाथि पटकपटक गोली प्रहार भएको देखिन्छ ।
‘…घरपालुवा हात्ती (चुरेगज) लाई सिधै आक्रमण गर्न आएकाले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मसुरक्षाको लागि २ (दुई) राउण्ड वार्निङ हवाई फायर गर्दा पनि नभागी हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकाले ज्यानको सुरक्षा गर्न अत्यन्तै कठिनाइ भएको कारण ३ (तीन) राउण्ड फायर गर्दा केही पर भागी पुनः फर्किएर आक्रमण गर्न आएकोमा थप १ (एक) राउण्ड फायर गर्दा अन्यत्र भागेको र पछि खोज्दै जाने क्रममा करिव १ किलोमिटर टाढा ढलेको आवस्थामा फेला परेको…’, निकुञ्ज प्रशासनले निकालेकै विज्ञप्तिको यही भनाइले पनि मकुनामाथि गोली बर्साएको देखाउँछ ।
निकुञ्ज प्रशासनको तर्क मान्ने हो भने हवाइ फायर गर्दा पनि नभागी आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ खसेपछि तीन राउन्ड फायर गर्नुपरेको थियो । तीन राउन्ड फायरपछि केही पर भागेको मकुना पुनः फर्किएर आक्रमण गर्न आएपछि थप एक राउन्ड गोली चलाइएको पनि जिकिर गरिएको छ ।
गोली प्रहारपछि भागेको मकुना घटनास्थलबाट एक किलोमिटर टाढा मृत अवस्थामा भेटिएको थियो । पोस्टमार्टम रिपोर्टअनुसार दाहिनेतर्फको घाँटीमै लागेको गोलीका कारण माकुना मरेको पुष्टि भएको छ । प्रशासनले हवाइ फायर भनिए पनि मकुनालाई ताकेरै मरणमा गोली हानेकै कुरा यसले पुष्टि गरेको छ।
मकुनाको मृत्युमा एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘मकुना, तँ सँग मेरो निकै पटक सक्षतकार भइसकेको थियो । विवेकशिल मानव भएको पृथ्वीमा तँ अटाइनस् । तँलाई मारिएको खबरले स्तब्ध छु । तेरो नगरीमा म पुगिरहनेछु, तेरो कथा र यादहरु रहिरहनेछन् मेरो सेलफोनमा । पुपुनर्जन्ममा स्वतन्त्र पखेटासहित जन्म होस् र मन लागे जति खेल्न र डुल्ने सौभाग्य मिलोस् । धेरै सम्झना मकुना ।’
मकुना चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा गत वर्ष पहिलो पटक आएको थियो । बस्ती छिरे पनि मकुनाले मानिसलाई क्षति भने गरेको थिएन ।