• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


ट्रम्प आएपछि अमेरिकाको बोली फेरियो, कोभिड चीनको प्रयोगशालाबाट फैलिएको दाबी

ट्रम्प आएपछि अमेरिकाको बोली फेरियो, कोभिड चीनको प्रयोगशालाबाट फैलिएको दाबी

images

प्रभाव न्यूज

१३ माघ २०८१
  • 4.3K
    SHARES
  • images
    ट्रम्प आएपछि अमेरिकाको बोली फेरियो, कोभिड चीनको प्रयोगशालाबाट फैलिएको दाबी
    images
    images
    images

    काठमाडौं - अमेरिकी गुप्तचर एजेन्सी सीआईएले कोभिड-१९ महामारीको फैलावटबारे नयाँ दाबी गरेको छ । सीआईएले भन्यो – कोरोनाभाइरस जनावरहरूबाट नभई चिनियाँ प्रयोगशालाबाट चुहिएको “अधिक सम्भावना” छ ।

    images

    तर, खुफिया एजेन्सीले यो निर्णयमा “कम भरोसा” रहेको बताएको छ । एक सीआईए प्रवक्ताले भने – उपलब्ध रिपोर्टहरूको आधारमा महामारी प्राकृतिक रूपमा फैलनुको सट्टा “अनुसन्धानको क्रममा फैलिएको” सम्भावना बढी देखियो ।

    तर, चीनले पहिलेदेखि नै यस्तो दाबीको विरोध गर्दै आएको छ । यसअघि चीनमाथि यस्तो आरोप लाग्दा कोरोना भाइरल ल्याबबाट नआएको बताएको थियो । चीनले अमेरिकी सरकार र पश्चिमी मिडियाले कोरोनाको स्रोतबारे अफवाह फैलाइरहेको बताएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका जन र्‍याटक्लिफले सीआईएको निर्देशकको जिम्मेवारी सम्हालेपछि नयाँ विश्लेषण सार्वजनिक गरिएको हो । र्‍याटक्लिफले ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय खुफिया निर्देशकको रूपमा काम गरेका थिए । उनले लामो समयदेखि प्रयोगशाला चुहावट सिद्धान्तलाई समर्थन गर्दै आएका छन् ।

    images

    वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा चुहावटका कारण कोभिड भाइरस आएको उनको दाबी छ । संस्थान हुनान भिजेको बजारबाट ४० मिनेट टाढा छ, जहाँ सङ्क्रमणको पहिलो क्लस्टर रिपोर्ट गरिएको थियो । ब्रेइटबार्ट न्यूजमा शुक्रवार प्रकाशित अन्तर्वार्तामा र्‍याटक्लिफले आफू भाइरसको उत्पत्तिबारे सीआईएको तटस्थ अडान त्याग्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् ।

    images

    “मैले भन्ने गरेको एउटा कुरा के हो भने धेरै मोर्चाहरूमा चीनबाट आउने खतराहरूलाई सम्बोधन गर्नु पर्छ । त्यो किन लाखौँ अमेरिकीहरू मरे र केन्द्रीय गुप्तचर निकाय पाँच वर्षदेखि कोभिडको उत्पत्तिबारे कुनै विश्लेषण नगरी किन छेउमा बसिरहेको छ भन्नेतर्फ पनि सोझिन्छ ।” उनले भने, “त्यो मेरा लागि पहिलो दिन नै गर्नुपर्ने काम थियो ।”

    तर, अमेरिकी अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमहरूलाई बताएअनुसार नयाँ विश्लेषण नयाँ गोप्य सूचनाहरूका आधारमा गरिएको थिएन र ट्रम्पले पद सम्हाल्नुअघि नै गरिएको थियो । बाइडन प्रशासनको अन्तिम साताहरूमा उक्त पुन: जाँचको आदेश दिइएको थियो र गत सोमवार ट्रम्पले पद सम्हाल्नुअघि नै उक्त जाँच सकिएको थियो । ‘कम भरोसा’ शनिबार प्रस्तुत गरिएको विश्लेषणमा “कम भरोसा” रहेको भनिएको छ ।

    त्यो भनेको त्यसबारेका गुप्त सूचनाहरू एकदमै कमजोर छन् वा कुनै निष्कर्ष दिने खालका छैनन् वा विरोधाभाषपूर्ण छन् भन्ने अर्थ लाग्छ । कोभिड महामारी कसरी फैलियो भन्नेबारे सबै एकमत देखिएका छैनन् । केहीले प्राकृतिक उत्पत्तिको सिद्धान्तलाई समर्थन गर्छन् ।

    उनीहरू जनावरहरूबाट प्राकृतिक रूपमा नै कोरोनाभाइरस मानिसमा सरेको र त्यसमा कुनै वैज्ञानिक वा प्रयोगशालाको संलग्नता नरहेको ठान्छन् । प्रयोगशालाबाट चुहिएको हुन सक्ने अनुमान गर्ने विषयमा वैज्ञानिकहरूबीच तीव्र बहस हुने गरेको छ । धेरैले यो सिद्धान्तलाई पुष्टि गर्ने दरिलो आधार नभएको बताउने गर्छन् ।

    चीनले पनि विगतमा प्रयोगशालाबाट चुहावट भएको भन्ने दाबीलाई वाशिङ्टनले गरेको “राजनीतिक उद्देश्यप्रेरित अफवाह” भन्दै खण्डन गर्दै आएको छ । यद्यपि अझै पनि गुप्तचर निकायहरूमा उक्त विवादित सिद्धान्तले प्रभाव पारेको देखिन्छ ।

    सन् २०२३ मा अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले फक्स न्यूजलाई उनको निकायले “महामारी उत्पत्तिको सम्भावित कारण सम्भवत प्रयोगशालामा भएको घटना हुन सक्ने” जनाएको बताएका थिए ।

    कोरोना भाइरसबारे डब्लुएचओले के भन्यो ? सन् २०२१ मा कोरोना भाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको थियो । यसबारे अनुसन्धान गर्न डब्ल्यूएचओको टोली चीन गएको थियो ।

    अनुसन्धान टोलीको प्रतिवेदनमा कोरोना महामारीका बारेमा धेरै कुराहरु उल्लेख गरिएको छ । डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भनेका थिए, ”यो रिपोर्ट एकदमै राम्रो सुरुवात हो तर यो अन्त्य होइन । हामीले अहिलेसम्म भाइरसको स्रोतबारे जानकारी पाएका छैनौं ।”

    यो दस्तावेज १७ चिनियाँ विज्ञ र १७ अन्तर्राष्ट्रिय विज्ञहरूको समूहले अनुसन्धानपछि तयार पारेको हो । १२० पृष्ठको प्रतिवेदनमा भाइरसको उत्पत्ति र मानिसमा यसको फैलावटबारे चार सम्भावनाहरू दिइएको थियो ।

    जसमा जनावरबाट मानिसमा भाइरस सर्ने सम्भावना, जनावरबाट मानिसमा सङ्क्रमण फैलाउनमा अर्को जीवको संलग्नता भएको सम्भावना, खाद्य वस्तुहरू मार्फत मानिसमा पुग्ने सम्भावना र प्रयोगशालाबाट मानिसमा भाइरस सर्ने सम्भावना कम थियो । –बीबीसीबाट

    images
    images

    प्रकाशित :माघ १३, २०८१ आइतवार - १५:३८:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij