• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव

‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव

images

प्रभाव न्यूज

३ माघ २०८१
  • 6.6K
    SHARES
  • images
    ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
    images
    images
    images

    खोटाङ - किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा सुरुआत गरिएको छ ।

    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेका हुन् ।

    मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा ‘मुन्दुम ट्रेल’ पदमार्ग आसपास पर्ने विभिन्न स्थानीय तहहरुले आ–आफ्नो अनुकूल महोत्सव आयोजना गरेका छन् । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई भव्यरुपमा सफल बनाउन आसपासका स्थानीय तहहरुमा यामअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको आयोजक आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिए ।

    भ्रमण वर्षको पहिलो दिन (मङ्गलबार) भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले चखेवाभञ्याङमा पाँच दिने महोत्सव आयोजना गरेको छ । यही माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकार, विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा कृषि मेला प्रदर्शनी आयोजना गरिएको हो ।

    images

    खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव, केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने स्थानीय तहहरुले जनाएको छ ।

    images

    यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाइएको छ । सरकारले घोषणा गरेको सय वटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’को प्रचारप्रसार तथा प्रवद्र्धनका लागि भ्रमण वर्ष २०२५ आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिए । “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ भव्य रूपमा सफल पार्ने योजनाका साथ अगाडि बढेका छौँ ।

    यो अवधिमा करिब एक लाख पर्यटक भित्र्याउन लक्ष्य लिइएको छ”, उनले भने, “मुन्दुम ट्रेल भर्जिन गन्तव्य हो । पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभाको सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।” खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ प्रकृतिप्रेमीअर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवं अनुसन्धान गर्न आउने पर्यटकका लागि रोजाइमा पर्ने गरेको छ । विसं २०७५ पुस २१ गते औपचारिकरुपमा घोषणा गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायतका आधारभूत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरिएको छ ।

    खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ पदमार्ग तीन हजार एक सय ६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार सात सय ५० मिटरको साल्पापोखरी तथा चार हजार एक सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्ग पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने जनाइएको छ । हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुससमेत नहुने पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिएका छन् ।

    पदमार्गमा अधिकांश किरात समुदायका बस्ती रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो । ठूल्ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढीअर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ ।

    दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।

    मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीरमौरी र विभिन्न जङ्गली जनावरसँग पनि त्यतिकै लुकामारी खेल्न पाइन्छ ।

    मानवबस्ती कम पाइने ‘मुन्दुम ट्रेल’मा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् ।

    images
    images

    प्रकाशित :माघ ३, २०८१ बिहिवार - १०:२०:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij