काठमाडौं - वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध बहस गरेर अदालतबाट बाहिरिँदै गर्दा आक्रमणमा परेका छन् ।
सहकारी ठगीसहितका अभियोगमा लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बुधबार सहकारीपीडितका तर्फबाट थुनछेक बहस गरेर बाहिरिएका त्रिपाठी अदालतको गेटैअगाडि आक्रमणमा परेका हुन।
त्रिपाठीलाई अदालतबाट बाहिरिँदै गर्दा युट्युबरहरूले भित्र के भइरहेको छ र प्रक्रिया के हुन्छ भनेर सोधिएकोमा जवाफ दिँदै गर्दा आफूमाथि आक्रमण भएको त्रिपाठीले जानकारी दिए ।
“भित्र के भइरहेको छ भनेर प्रश्न सोधियो । मैले अदालती प्रक्रिया बुझाउँदै थिए,” त्रिपाठीले भने, “पछाडिबाट ठोक ठोक भन्दै जत्था आयो । मलाई भुइँमा पछार्यो।”
उनले त्यसपछि आफू ‘अनकनसियस’ जस्तै भएको बताए। प्रहरी नआएको भए आपराधिक जत्थाले आफ्नो ज्यान समेत लिने अवस्था रहेको उनले सुनाए ।
लामिछानेले आफू संलग्न भएको, सहकारीमा आफ्नै हस्ताक्षरबाट चेकमार्फत लोन तिरेका विषयमा समेत इन्कारी बयान दिएकाले ‘इनोसेन्ट’ भन्न मिल्ने अवस्था नरहेकाले थुनामा पठाउन माग गर्दै त्रिपाठीले बहस गरेका थिए ।
उनले संगठीत अपराधका अन्तर्राष्ट्रिय मान्यता र आधारहरू प्रस्तुत गर्दै लामिछाने सहकारी ठगीमा मात्र नभएर संगठित अपराधमा पनि दोषी हुन सक्ने भन्दै पछि ठहरेबमोजिम हुनेगरी पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए ।
त्यसलगत्तै इजलासबाट निस्किएर बाहिरिएका वरिष्ठ अधिवक्ता त्रिपाठी गेटनजिक आक्रमणमा परेका थिए। त्रिपार्ठीमाथिको आक्रमणमा काठमाडौं जिल्ला अदालत बार एसाेसिएसनले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग राखेको छ। उसले कानुन व्यवसायीमाथिको आक्रमण स्वतन्त्र, सक्षम र निर्भिक न्यायालयमाथिको आक्रमण भएको भन्दै त्यस्ता आक्रणकारीलाई कानुनको दायरामा ल्याउन माग गरेको छ।
नेपाल बार एसाेसिएसनका अध्यक्ष र महासचिव दुवै उपत्यका बाहिर भएको भन्दै अध्यक्ष गोपालकृष्ण घिमिरेले फेसबुकमार्फत विरोध सार्वजनिक गरेका छन् ।