पश्चिम नवलपरासी - पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ ।
प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो । यो घटना गत मंसिर १८ गतेको भए पनि प्रहरीमा ढिलोमात्रै उजुरी परेपछि सार्वजनिक भएको हो ।
पुस १९ गते मात्र प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो । अहिले ती शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मंसिर १८ गते कक्षामा दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले हानेकी थिइन् ।
त्यहीक्रममा बालक प्रशान्तको आँखामा चोट लागेको विद्यालयका प्रिन्सिपल सुजित कुमार गुप्ता बताउँछन् । प्रिन्सिपल गुप्ता भन्छन्, ‘मिसले पढाइरहेको बेला दुईजना विद्यार्थी झगडा गरिरहेको अवस्था थियो ।
त्योबेला बोर्डमा प्रयोग गर्नका लागि राख्नु भएको प्लास्टिकको पाइप थियो कि के थियो त्यसले झुक्किएर लागेको भनेर उहाँले हामीलाई भन्नु भएको छ ।’ त्यसपछि विद्यालयले नै प्रशान्तलाई नजिकैको गोपीगञ्ज बजारमा उपचारका लागि लगेको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकहरुले परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्याए । तर चिकित्सकले बालकको नानी फुटेकाले आँखा देख्न नसक्ने बताएको प्रशान्तका बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् । ‘तिलगंगामा १९ गते अप्रेशन भयो ।
डाक्टरले देख्न सक्दैन, जीवनभरी गाह्रो हुन्छ उसलाई भन्नु भएको छ,’ नरेन्द्रले भने, ‘अझै दुईवटा अप्रेसन गर्नुपर्छ रे ।’ अभिभावकका अनुसार वायाँ आँखाको चोटले दायाँ आँखा पनि राम्रोसँग खोल्न र हेर्न मिल्दैन । चिकित्सकले एक वर्षसम्म उपचार गर्नुपर्ने भनेकाले बेलाबेलामा अस्पतालमा फलोअपमा आउन भनेको बुवा नरेन्द्र बताउँछन् । ‘आँखाको पर्दामा ब्लड जमेको छ रे । त्यो अप्रेसन गरेपछि फेरि अर्को एउटा अप्रेसन गर्नुपर्छ रे,’ उनले भने, ‘एक वर्षसम्म उपचार गराइराख्नुपर्छ ।
हप्ता–हप्तामा फलोअपमा आउन भन्नु भएको छ ।’ यो चोटपछि छोरोले टाउको पनि दुख्छ भन्दै रोइराख्ने उनले बताए । काठमाडौंमा बालकको उपचार गराएर फर्किएपछि बाबु नरेन्द्र चौधरीले पुस १६ गते उपचारका कागजातसहित इलाका प्रहरी कार्यालय बर्दघाटमा शिक्षिका सन्जुविरुद्ध उजुरी दिएका छन् ।
त्यसलगत्तै अनुसन्धान प्रक्रिया अघि बढाएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए । डिएसपी बोहराले भने, ‘अभिभावकहरु विद्यालयसँगै छलफल गर्दै, उपचार गराउँदै गर्नु भएको रहेछ, त्यसैले प्रहरीमा ढिलोमात्रै उजुरी आयो ।त्यसपछि अदालतमा मुद्दा दर्ता गरी कानुन बमोजिम अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’
तर यो समाचार तयार पार्दासम्म प्रहरीले ती शिक्षिकालाई नियन्त्रणमा लिएको छैन । ‘ती शिक्षिकाको घर गाउँमा खोजतलास गर्दा फेला पार्न सकेका छैनौं । फेला पार्नासाथ नियन्त्रणमा लिन्छौं,’ प्रहरी प्रवक्ता बोहराले भने ।