खोटाङ - खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत भएकी छिन्। जिल्लाको केपिलासगढी गाउँपालिकाकी एक मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि बलात्कार भएको खुलेको छ ।
करिब ६ वर्ष अघि मानसिक सन्तुलन गुमाएर उपचाररत महिलालाई गाउँकै ३९ वर्षका पुरुषले बलात्कार गरेको खुलेको हो।
बलात्कृत भएको ६ महिनापछि मात्र थाहा भएको छ। महिला गर्भवती रहेको थाहा पाएपछि परिवारले प्रहरीमा जाहेरी दिएका छन्।
परिवारले प्रहरीमा दिएको जाहेरी अनुसार ३९ वर्षका एककुमार राईले मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेका हुन् ।
हाल उक्त महिलाको ललितपुरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङको सल्लाहमा अस्पताल नजिकै रहेको प्रहरी कार्यालयबाट परिवारले जाहेरी दिएका छन् ।
उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय खोटाङमा पुस १८ गते दर्ता भएको सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुयभयो ।
जाहेरी दर्ता पश्चात प्रहरी टोली घटना भएको स्थल पुगेर मुचुल्का तयार गरेर फर्किएको छ। पीडकलाई पक्राउ गर्नका लागि आइतबार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइने प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।
गत असारमा एककुमार राईले घरमा एक्लै भएको मौका छोपेर मानसिक सन्तुलन गुमेकी महिलालाई बलात्कार गरेका हुन् ।
पीडक राई हाल बेलायतमा रहेको बताइएको छ। बेलायतबाट बेलाबेला पीडित महिलाको आमालाई कलसमेत पीडक एककुमारले गर्ने गरेका थिए ।
पीडित महिला गर्भवती रहेको थाहा भएपछि परिवारलाई पीडक राईले पैसाको प्रलोभनसमेत देखाएको बुझीएको छ। हाल पीडक एककुमार बेलायतमै रहेको बताइएको छ।