• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कार्यपालिकाको बैठक केपिलासगढी दरबारको खुला चौरमा, खाजा थुन्चेमा

कार्यपालिकाको बैठक केपिलासगढी दरबारको खुला चौरमा, खाजा थुन्चेमा

images

प्रभाव न्यूज

१२ पौष २०८१
  • 5.3K
    SHARES
  • images
    कार्यपालिकाको बैठक  केपिलासगढी दरबारको खुला चौरमा, खाजा थुन्चेमा
    images
    images
    images

    खोटाङ- केपिलासगढी गाउँपालिका खोटाङले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ।

    images

    गाउँपालिकाको सुविधा सम्पन्न सभाहलमा सञ्चालन हुँदै आएको नियमित बैठक यसपटक भने ऐतिहासिकस्थल केपिलासगढीको खुला चउरमा सञ्चालन भएको हो ।

    केपिलासगढी गाउँपालिकाका अधिकांस जनप्रतिनिधि आफ्नै पालिकामा अवस्थित किरात ऐतिहासिकस्थल केपिलासगढी नपुगेकाले बैठकको माध्यमबाट उक्त ऐतिहासिकस्थलको भ्रमण गराइएको प्रमुख प्रशासकीय अधिकृत सौधन राई ‘युनिक’ले जानकारी दिनुभयो ।

    “गाउँपालिकाको नामाकरणको आधारसमेत रहेको किरात ऐतिहासिक केपिलासगढीमा गाउँ कार्यपालिकाका अधिकांश सदस्य पुग्नुभएको थिएन ।

    images

    बैठकको माध्यमबाट उहाँहरुलाई ऐतिहासिकस्थलको भ्रमण गराइएको छ”, उहाँले भन्नुभयो, “कार्यपालिकाको बैठकले ऐतिहासिकस्थल केपिलासगढीको संरक्षण तथा प्रवद्र्धन गर्ने निर्णय गरेको छ ।

    images

    यसका लागि आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम ल्याउने कार्यपालिका बैठकमा सहभागी जनप्रतिनिधिहरुबीच सहमति भएको छ।” कार्यपालिकाको बैठकमा किरात ऐतिहासिकस्थल केपिलासगढीको बारेमा पाटन संयुक्त क्याम्पस काठमाडौँका पूर्वप्राध्यापक एवम् संस्कृति विज्ञ चतुरभक्त राईले कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो ।

    कार्यपत्रमा केपिलासगढी, यसको ऐतिहासिक पक्ष, यसमा गरिएका प्रयासहरू, अब गरिनुपर्ने कार्यक्रमहरुसमेत उल्लेख गरिएको छ। गाउँपालिकाको सभाहलमा राखिएको सोफामा बसेर गरिने नियमित बैठक यसपटक किरात ऐतिहासिकस्थल केपिलासगढीको खुला चउरमा म्याट र दुबोमा बसेर सञ्चालन गरिएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो ।

    बैठकमा सहभागी जनप्रतिनिधि तथा कर्मचारीका लागि थुन्चेमा बोकेर लगिएको सेलरोटी, अचार र सुठुनीका साथै स्थानीय किवीको जुस खाजाको रुपमा उपलब्ध गराइएको थियो ।

    केपिलासगढी दरबार क्षेत्रमा पुरातत्व विभागको परामर्श र डिभिजन वन कार्यालय खोटाङको सहयोगमा भग्नावशेष संरक्षण गर्ने, गाउँपालिकाको पहलमा विभिन्न जातको गुराँसका बिरुवा रोप्ने लगायतका क्रियाकलाप गरिएको छ।

    सिमेन्टको कङ्क्रिट प्रयोग गरेर निर्माण गरिएको बन्द कोठाको सट्टा प्रकृतिको काखमा बसेर पहिलो पटक कार्यपालिकाको नियमित बैठक सञ्चालन गरिएको हो । जलवायु परिवर्तनको असरबाट जोखिम क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले जलवायुको असर न्यूनिकरणको लागि आफ्नो वार्षिक नीति, कार्यक्रम साथै विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    जलवायु असर न्यूनिकरण गर्नुपर्ने साङ्केतिक अभियान र प्रयासको रूपमा समेत आज (बुधबार)को बैठक प्रकृतिमा गएर सञ्चालन गरिएको हो ।

    बैठकमा पूर्वप्राध्यापक, समाजसेवी एवम् संस्कृति विज्ञ चतुरभक्त राईलाई गाउँपालिकाको तर्फबाट कदरपत्रसहित सम्मानसमेत गरिएको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिनुभयो ।

    केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजार नजिकै रहेको किरात ऐतिहासिकस्थल केपिलासगढी संरक्षण गर्नुका साथै सामाजिक, साँस्कृतिक र पर्यावरणीय क्षेत्रमा पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो ।

    केपिलासगढीमा वि.सं. १८३० सालसम्म किराती राजा निगुहाङले राज गरेको प्रमाण भेटिएको छ ।

    तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकृत गर्नेक्रममा अमरसिं थापा नेतृत्वमा आएको सैन्य टोलीले केपिलासगढी कब्जा गरेको जनाइएको छ ।

    बाक्सिला बजार नजिकै रहेको केपिलासगढीमा राजा बस्ने दरबार, सैनिक क्याम्प, बङ्कर लगायतका संरचना अझै देख्न सकिन्छ ।

    जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढीलाई संस्कृति विज्ञ चतुरभक्त राईकै नेतृत्वमा संरक्षण गरेर राखिएको छ ।

    images
    images

    प्रकाशित :पौष १२, २०८१ शुक्रवार - ०९:२६:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij