• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


हलेसी तुवाचुङमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँचजना नगर प्रहरी नियुक्त

हलेसी तुवाचुङमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँचजना नगर प्रहरी नियुक्त

images

प्रभाव न्यूज

१ मंसिर २०८१
  • 8.4K
    SHARES
  • images
    हलेसी तुवाचुङमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँचजना नगर प्रहरी नियुक्त
    images
    images
    images

    खोटाङ -  हलेसी तुवाचङ नगरपालिकाले प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँचजना नगर प्रहरी नियुक्त गरेको छ । नेपालको संविधान २०७२ को धारा ५७ को (४) र २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को (१) बमोजिम नगरपालिकाले आज (शुक्रबार) दर्जानी चिन्हसहित प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँचजना नगर प्रहरी नियुक्त गरेको हो ।

    images

    नगरपालिकाको १५ औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार नगर प्रहरी सहायक निरीक्षकमा नीरकुमार राउत, नगर प्रहरी हवल्दारमा अंकित राई, नगर प्रहरी जवान पुरुषमा मणिसुन्दर राई र सुमन राई तथा नगर प्रहरी जवान महिलामा एलिसा राईलाई नियुक्त गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । “नगर प्रहरी जुनसुकै समयमा पनि ड्युटीमा रहनेछ । उनीहरुलाई जुनसुकै बखतमा पनि काममा लगाउन सकिन्छ”, उहाँले भन्नुभयो, “नगर प्रहरीको प्रमुख कर्तव्य नगरवासीको शान्ति-सुरक्षा कायम गर्नु हो । यसका साथै नियमविपरित गर्ने नगरवासीलाई कानून बमोजिम कारबाही गर्न सिफारिस गर्नेसम्मको अधिकार दिइएको छ ।”

    नगरपालिकाले निर्माण गरेको ‘नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन ऐन २०८१’ अनुसार नियुक्त गरिएका पाँचजना नगर प्रहरीलाई नगर प्रमुख राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएलगत्तै उनीहरुलाई काम, कर्तव्य र अधिकारसमेत प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठीले जानकारी दिनुभयो ।

    वि.सं. २०७५ सालमा नगर सुरक्षा गार्ड भनेर बिना दर्जाका चारजना सुरक्षाकर्मी नियुक्त गरिएको नगरपालिकामा यस पटक ‘नगर प्रहरी ऐन २०८१’ निर्माण गरेर दर्जासहितका पाँचजना नगर प्रहरी नियुक्त गरिएको जनाइएको छ । त्रिधार्मिकस्थल हलेसीसमेत रहेको यस नगरपालिकामा नियुक्त गरिएका नगर प्रहरीलाई हलेसीमा लाग्ने मेला व्यवस्थापनमा समेत परिचालन गरिने नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।

    images

    दश स्थानीय तह रहेको जिल्लाका अन्य सबै स्थानीय तहले यसअघि नै आ–आफ्नो पालिकामा ऐन निर्माण गरेर गाउँ तथा नगर प्रहरी नियुक्त गरिसकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रहरी सहायक निरीक्षकको नेतृत्वमा एकजना हवल्दार तथा दुईजना जवान नियुक्त गरेको छ ।

    images

    दुई नगरपालिका तथा आठवटा गाउँपालिका रहेको जिल्लाका दश स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सबैभन्दा बढी ११ जना गाउँ प्रहरी नियुक्त गरेको छ । सात वडा रहेको उक्त गाउँपालिकाले एकजना प्रहरी सहायक निरीक्षक र एकजना हवल्दारसहित ११ जना गाउँ प्रहरी नियुक्त गरेको हो ।

    गाउँपालिकाको चारैतिर धेरैवटा नाका भएकाले प्रत्येक नाकामा गाउँ प्रहरी खटाएर राजस्व सङ्कलन गर्ने उद्देश्यले गाउँ प्रहरीको सङ्ख्या थपेर ११ जना पु¥याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिनुभएको छ । गाउँपालिकाबाट निर्यात हुने कृषि तथा वनजन्य सामग्री र उत्खनन् भएर बाहिरी जिल्ला जाने कच्चा पदार्थको राजस्वलाई व्यवस्थित तरिकाले सङ्कलन गर्न विभिन्न नाकामा गाउँ प्रहरी परिचालन गरिएको जनाइएको छ ।

    images
    images

    प्रकाशित :मंसिर १, २०८१ शनिवार - १८:०६:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij