६ भदौ, जनकपुरधाम । महोत्तरीमा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय छन् ।
माइतपक्ष भने दाइजोको निहुमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ । रिनाको मंगबार मध्य राति १ बजे मृत्यु भएको हो ।
घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो ।
प्रहरी पुग्दा घरको बरण्डामा रिनाको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।
डिएसपी जयसवारका अनुसार पति रोहनले राति खाना खाएर सँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्वर उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याएको प्रहरीलाई बयान दिएका छन् ।
यता माइत पक्षले आफूहरु पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकोले छोरीको हत्या भएको दाबी गरेको छ ।
रिना मंगलबार मात्रै माइतबाट ससुरा फर्किएकी थिइन् ।मृतक रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
पोस्टमार्टम पश्चात मात्र के कारणले मृत्यु भएको खुल्ने डिएसपी जयसवारको भनाइ छ । घटना सामान्य भएको बताउँदै प्रहरीले भने कसैलाई पनि पक्राउ गरेको छैन ।