• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

images

प्रभाव न्यूज

२७ बैशाख २०८१
  • 11.1K
    SHARES
  • images
    खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
    images
    images
    images

    खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना गरिएको छ। नगरवासीलाई आफ्नै गाउँमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउने उद्देश्यले तत्कालका लागि पाँच शय्याको नगर अस्पताल स्थापना गरिएको हो।

    images

    जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेर सेवासमेत प्रवाह गरिएको वडाध्यक्ष दानबहादुर राईले जानकारी दिए। जालपाका स्थानीय बासिन्दाले २०६९ सालमा चन्दा सङ्कलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शय्याको सामुदायिक अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँ (भौतिक संरचना)मा नगर अस्पताल सञ्चालन गरिएको हो।

    जनसेवा सामुदायिक अस्पतालको नाममा रहेको चार रोपनी एक आना दुई दाम जग्गामा निर्माण गरिएको चारवटा भवन, क्यान्टिन, सौचालय लगायतका भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए। जालपामा सञ्चालित स्वास्थ्य चौकीको सेवासमेत सोही नगर अस्पतालबाट प्रवाह गर्नेगरी एकीकृत गरिएको जनाइएको छ।

    जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समिति जालपाले नगरपालिकालाई  तीन करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबार नगर अस्पताल बनाएर उद्घाटन गरिएको छ। आगामी दिनमा १५ शय्यामा स्तरोन्नति गर्नेगरी स्थापना गरिएको नगर अस्पतालको उद्घाटन पूर्व सांसद एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, नगर प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संयुक्तरूपमा पानसमा बत्ती बालेर तथा ब्यानर खोलेर गरेका छन्। 

    images

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले स्थानीय तहका जनप्रतिनिधिले जनताको दैनिक जीवनसँग जोडिने किसिमका योजना बनाएर जनताको समस्या समाधान गर्नेतर्फ हुनुपर्ने बताए। “वर्तमान अवस्थामा शिक्षा, स्वास्थ्य र रोजगार देशको प्रमुख समस्याका रुपमा देखा परेको छ। यसलाई स्थानीय तहका जनप्रतिनिधिले गम्भीरताका साथ सोच्नुपर्ने अवस्था आएको छ”, उनले भने, “आफ्नो क्षेत्रमा शिक्षा र स्वास्थ्य कस्तो बनाउने भन्ने सम्पूर्ण अधिकार संविधानले नै स्थानीय तहलाई दिएको छ। शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा दिनानुदिन गाउँबाट शहर पस्नेको लर्को लागिरहेको छ। यसप्रति स्थानीय तहका जनप्रतिनिधिले दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु पर्ने अवस्था आएको छ । अन्यथा अबको केही गाउँ रित्तो हुन्छ।”

    images

    जनसेवा सामुदायिक अस्पतालले उपलब्ध गराएको भौतिक संरचना तथा उपकरण उपयोग गरेर स्थापना गरिएको नगर अस्पताललाई क्रमशः स्तरोन्नति गर्दै लगिने नगर प्रमुख भट्टराईले बताए। “जालपामा स्थापना गरिएको नगर अस्पतालमा दिक्तेल रुपाकेट मझुवागढी नगरपालिकासँगै केपिलासगढी, रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाका स्थानीय बासिन्दाले सेवा लिनेछन् । तत्कालका लागि पाँच शय्यामा सञ्चालन गरिएको अस्पताललाई क्रमशः स्तरोन्नति गर्दै लैजाने योजना बनाएका छौँ”, उनले भने, “नगर अस्पतालमा बहिरङ सेवा, भिडियो एक्स–रे, ल्याव परीक्षण, प्रसुति सेवा लगायत अन्य सरकारी अस्पतालमा प्रदान गर्ने सम्पूर्ण सेवा उपलब्ध हुनेछ । यसले स्थानीय बासिन्दालाई सहज हुने अपेक्षा गरेका छौँ।”

    प्रमुख जिल्ला अधिकारी कार्कीले नगर अस्पतालले चाहेको खण्डमा प्रशासनको तर्फबाट चौबीसै घण्टा शान्तिसुरक्षा उपलब्ध गराउन सकिने बताए। कार्यक्रममा जालपाका निवर्तमान वडाध्यक्ष विकास राईले तत्कालीन अवस्थामा जालपमा सामुदायिक अस्पताल स्थापना गर्नुपर्ने बाध्यता तथा जालपाको बिगत र वर्तमान अवस्थाको बारेमा प्रकाश पारे।

    कार्यक्रममा नगर अस्पताल स्थापनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जनसेवा सामुदायिक अस्पताल जालपाबीच भएको दुई पक्षीय सम्झौतापत्र आदानप्रदानसमेत गरिएको छ। सम्झौतापत्रमा नगर प्रमुख भट्टराई र सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

    नगर अस्पताल उद्घाटन कार्यक्रमको अवसरमा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो। नगरपालिका र करुणा फाउण्डेशन नेपालले संयुक्तरुपमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १२४ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए।

    images
    images

    प्रकाशित :बैशाख २७, २०८१ बिहिवार - १९:२७:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij