खोटाङ – खोटाङमा आगामी वैशाख ३१ गतेदेखि वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव हुने भएको छ। जिल्लामा ‘स्पोर्ट कल्चर’को विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्याउने लक्ष्यका साथ नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आगामी वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म दिक्तेलमा वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव गर्न लागेको हो।
गत बुधबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले एथ्लेटिक्स (हाफ म्याराथन तथा अन्य दौड), राष्ट्रिय कविता प्रतियोगिता र १८ वर्षमुनिको खुला गायन, खुला राष्ट्रिय कराते प्रतियोगीता सञ्चालन हुने वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव गर्न लागिएको जानकारी दिएका छन्।
नेपाल खेलकुद प्रतिष्ठानले नेपाल कराते महासंघको संयोजन र नेपाल सितोरियो कराते संघको व्यवस्थापनमा करिब ५२ लाखमा सम्पन्न हुने वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सवको तयारी गरेको हो। हालसम्म २५ लाख खर्च जुटाइसकिएको अध्यक्ष राईले जानकारी दिए।
यस्तो छ प्रतियोगीताको तयारी
एथ्लेटिक्स परिवार नेपाल र नेपाल एथ्लेटिक्स संघको सहयोगमा बैसाख ३१ गतेदेखि जेठ १ गतेसम्म हाफ म्याराथन र अन्य दौड प्रतियोगीता (एथ्लेटिक्स) सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष राईले बताए।
यस्तै, टेम्के तुवाचुङ प्रतिष्ठान र रावासावा प्राज्ञिक समाजको सहयोगमा जेठ ३ गते राष्ट्रिय कविता प्रतियोगिता गर्ने तयारी गरिएको छ। खोटाङ कलाकार समाजसँगको सहकार्यमा जेठ ६ गते १८ वर्षमुनिको खुल्ला गायन प्रतियोगिता गरिने छ। जेठ ८ गतेदेखि जेठ १० गतेसम्म राष्ट्रिय कराते प्रतियोगिता गर्ने तालिका निर्धारण गरिएको अध्यक्ष राईले बताए।
एथ्लेटिक्सतर्फ १२ वर्षमुनिको छात्र/छात्रा १ माईल, ६० वर्षमाथिका पुरुष १ माईल, आमाहरुको ३ किलोमिटर, १२ वर्षमाथि र १५ वर्षमुनिका छात्र/छात्राको ५ किलोमिटर, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक, कर्मचारी, शिक्षकको ५ किलोमिटर, १५ वर्षमाथिका खुल्ला महिला÷पुरुष १० किलोमिटर दौड प्रतियोगीता सञ्चालन गर्ने तयारी गरिएको छ। यस्तै, २१.०९७५ किलोमिटर दुरीको खुल्ला पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता गर्ने तयारी गरिएको छ।
राष्ट्रिय कराते प्रतियोगितामा सात प्रदेश सहित गोजुरियो कराते, सोतोकान कराते, वादोरियो कराते र आयोजकले प्रतिष्पर्धा गर्नेछन्। सितोरियो पुरुषतर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी र माइनस ८४ केजी तौल समुहबीचमा प्रतिष्पर्धा गराइने छ।
यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी ६१ केजी र माइनस ६८ केजी तौल समुहमा प्रतिष्पर्धा हुनेछन् । पुरुष एकल, महिला एकल, पुरुष समुह र महिला समुह काँतामा पनि प्रतिष्पर्धा गराइने छ।
करातेमा ऐतिहासिक पुरस्कार राशी
राष्ट्रिय कराते प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १११, दोश्रो हुने टिमलाई नगद ५५ हजार ५५५, तेश्रो हुने टिमलाई ३३ हजार ३३३ र चौथो हुने टिमलाई २२ हजार २२२ का साथमा ट्रफी र प्रमाण–पत्र प्रदान गरिने छ।
उत्कृष्ट पुरुष र उत्कृष्ट महिला खेलाडीलाई जनही २२ हजार २२२ का साथमा ट्रफी र प्रमाण–पत्र गर्ने घोषणा गरिएको छ। उत्कृष्ट व्यवस्थापकले ११ हजार १११ रुपैयाँ पुरस्कार हात पार्नेछन्। सितोरियो खेलाडीलाई आवास र खानाको निःशुल्क व्यवस्थापन गरिने अध्यक्ष राईले जानकारी दिए।
खुल्ला महिला-पुरुष हाफ म्याराथनमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई छुट्टाछुट्टै क्रमशः ७५ हजार, ५० हजार र २५ हजार प्रदान गरिने छ । हाफ म्याराथनका चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौंले ७ हजार र सातौंले ५ हजार पाउने छन्।
यस्तै, १२ वर्षमुनिको छात्र÷छात्रा १ माईल दौडमा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमशः जनही ३ हजार, २ हजार र १ हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन्। ६० वर्षमाथिका पुरुष १ माईल दौडमा प्रथम, दोश्रो र तेश्रो हुने सहभागीले क्रमशः ५ हजार, ३ हजार र २ हजार पाउने छन्।आमाहरुको ३ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुने सहभागीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार प्रदान गरिने छ । १२ वर्षदेखि १५ वर्षमुनि उमेर समुहको छात्र÷छात्रा ५ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीलाई क्रमशः जनही ७ हजार, ६ हजार र ५ हजार प्रदान गरिनेछ ।
३५ वर्षमाथिका राजनितिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी र शिक्षकको ७ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार प्रदान गरिने छ । १५ वर्षमाथिको खुल्ला (महिला-पुरुष)को १० किलोमिटर दौड प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई जनही क्रमशः १५ हजार, १० हजार र ७ हजार प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ।
यस्तै, कविता प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौं हुने श्रष्टालाई क्रमशः ४० हजार, २५ हजार, २० हजार, १७ हजार, ११ हजार र ७ हजार प्रदान गरिने छ । यस्तै, साहित्यतर्फ प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौं हुने श्रष्टालाई क्रमशः ४० हजार, २५ हजार, १७ हजार, ११ हजार र ७ हजार प्रदान गरिने अध्यक्ष राईले बताए।
खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यका साथ खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सवको तयारी गरिएको हो।