खोटाङ, २९ फागुन - खोटाङ जिल्लाका बालिबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिन सुरु गरिएको छ। सन् २०२६ सम्ममा दादुरा–रुबेला निवारण गर्ने नेपाल सरकारको अभियान अन्तरगत खोटाङमा मंगलबारदेखि ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिन थालिएको हो। आगामी चैत ३ गतेसम्म सञ्चालन हुने अभियानका क्रममा जिल्लाका ११ हजार ५१६ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाईजर सुरेन्द्रकुमार बुढाथोकीले बताए।

जिल्ला स्तरीय खोप समन्वय समितिको आयोजनामा सरस्वती आधारभुत विद्यालय दिक्तेलबाट खोप अभियान शुभारम्भ गरिएको छ। खोप अभियान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए। कार्यक्रम जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षतमा भएको थियो।
अभियानका लागि जिल्लाका १० स्थानीय तहमा ३९७ वटा खोप केन्द्र निर्धारण गरिएको छ। प्रतिखोप केन्द्र एक÷एक जना खोप कार्यकर्ता खटाइएको छ। यस्तै, दुई÷दुई जनाका दरले ७९४ स्वयंसेवक परिचालन गरिएको छ। खोप पाउनबाट छुट बच्चाको द्रुत सर्वेक्षणका लागि ३९५ जना जनशक्ती परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। दादुरा रुबेलाबाट संक्रमित एक जनाबाट १८ जनासम्मलाई संक्रमण सर्ने भएकाले यसलाई कोरेना भाइरसभन्दा खतरनाक संक्रामक रोग मानिन्छ।
स्वास्थ्य कार्यालयका अनुसार केपिलासगढी गाउँपालिकाका ८७१, ऐसेलुखर्क गाउँपालिकाका ८३०, रावा बेँसी गाउँपालिकाका ७१७, हलेसी तुवाचुङ नगरपालिकाका १ हजार ९६२, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २ हजार ९३१, साकेला गाउँपालिकाका ६८२, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १ हजार ८२, खोटेहाङ गाउँपालिकाका ९७३, जन्तेढुंगा गाउँपालिकाका ७६९ र बाराहापोखरी गाउँपालिकाका ७०० जना बालबच्चालाई खोप दिने तयारी गरिएको छ।
नियमित खोप छुटेको अवस्थामा ५ वर्षसम्म छुट खोप तालिका अनुसार नजिकैको खोप केन्द्रमार्फत खोप लगाउन सकिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चौंलागाईले जानकारी दिए।
दादुरा मिजल्स भाइरसको कारण अति छिटो सर्ने संक्रामक रोग हो। स्वास्थ्यकर्मीका अनुसार दादुरा–रुबेलाको संक्रमण भएको अवस्थामा बालबच्चालाई ज्वरो आउने, शरीरमा रातो विमिरा देखा पर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने, रुघाखोकी लगायतका लक्षण देखा पर्न सक्छन्।