खोटाङ – खोटाङको प्रतिष्ठित र सबैभन्दा ज्येष्ठ बाक्सिला रनिङ गोल्डकपको प्रथम पुरस्कार भगवती स्पोर्टस क्लव खोटाङबजारले जितेको छ। केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्बी माविको खेलमैदानमा आइतबार सम्पन्न फाइनल प्रतिष्पर्धामा आयोजक बाक्सिला फुटबल क्लव (ब्लु)लाई हराउँदै भगवती स्पोर्टस क्लवले प्रथम पुरस्कार जितेको हो।
निर्धारित समयभित्र दुबै टिमबाट एक–एक गोल मात्रै भएपछि टाईब्रेकरमार्फत विजेता र उपविजेताको टुंगो लगाइएको थियो। टाईब्रेकरमा बाक्सिला फुटबल क्लव (ब्लु)ले ४ गोल गर्दा भगवती स्पोर्टस क्लव खोटाङबजारले ५ गोल गरेको थियो। हारसँगै बाक्सिला फुटबल क्लव (ब्लु) उपविजेता बनेको छ।
बाक्सिला फुटबल क्लवको आयोजनामा भएको प्रतियोगितामा नेर्पा स्पोर्टस क्लव नेर्पा र खारम्बु स्पोर्टस क्ल्व, खार्मी सेमिफाइनलिष्ट बनेको छ। प्रतियोगितामा विजेता बन्न सफल टिमलाई नगद २ लाख ५५ हजार २१२ र उपविजेतालाई १ लाख २८ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको बाक्सिला फुटबल क्लवका अध्यक्ष शिबकुमार राईले बताए।
दुई सेमीफाइनलिष्ट टिमलाई प्रतिटिम ६० हजार प्रदान गरिएको छ। प्रतियोगिताको पहिलो खेलमा पराजित भएर बाहिरिने टिमलाई पनि प्रतिटिम नगद ३० हजार प्रदान गरिएको छ। विजेता टिम र खेलाडीलाई अखिल नेपाल फुटबल संघका प्रदेश अध्यक्ष एवम् केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राई र केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले पुरस्कार हस्तान्तरण गरेका थिए।
मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि २०६१ सालदेखि सुरु गरिएको बाक्सिला गोल्डकपको १२ औं संस्करण फागुन २ गतेदेखि सुरु गरिएको थियो। गोल्डकपमा जिल्लाका आठ टिमको सहभागीता रहेको थियो। जिल्लामा व्यवसायिक रुपमा खेलिरहेका खेलाडीलाई अवसर मिल्नेगरी गोल्डकप आयोजना गरिएको बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले बताए।
२०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल खेलको व्यवसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवद्र्धनकालागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दै आएको छ। चन्दाकै भरमा प्रतियाेिगता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा प्रतियोगिता आयोजना गरेको हो।