खोटाङ – खोटाङमा दाउराको मुढोले किच्दा बालिकाको ज्यान गएको छ। दाउरा काट्का लागि आमासँग जंगलमा गएकोबेला माथिबाट खसेको दाउराको ठुटोले टाउकोमा हिर्काउँदा ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी साँढे चार वर्षकी आयुस्मा राईको मृत्यु भएको वडाध्यक्ष अरुण राईले बताए। सामुदायिक वनमा दाउरा काट्न खुला गरिएपछि शनिबार स्थानीय तीन ग्रुप दाउरा काट्न जंगल पुगेका थिए।
आमालाई पछ्याउँदै जंगल गएकी आयुस्मा सबैभन्दा पुछारको ग्रुपमा थिईन्। सिरान ग्रुपका एक स्थानीयले दाउरा काट्नेक्रममा सुल्किएर झरेको ठुटोले टाउकोमा लाग्दा खेलीरहेकी बालिका गम्भीर घाइते भएकी थिईन्।
बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको स्थानीय भद्रकुमार राईले बताए। बालिकाको आइतबार पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।