काठमाडौं –
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।
उनको सजायका लागि पुस २५ मा पेसी तोकिएको छ । लामिछानेले पीडितलाई नगरकोट घुमाएर काठमाडौंमा ल्याई होटलमा राखेर करणी गरेको अदालतले ठहर गरेको छ ।
तर, अदालतले पीडित गौशाला-२६ को जन्ममिति २०६३ असार १८ गते भएको भन्दै उनलाई नाबालिग भने ठहर गर्न नसक्ने बताएको छ ।
तर, नाबालिग नभए पनि पीडितको आर्थिक अवस्था र बयान समेतलाई ध्यान दिँदा करणी सहमतिमा नभएको देखिएको अदालतले भनेको छ ।
अदालतले सीसीटिभी फुटेज, पीडितको बकपत्र, साक्षीको बयान लगायतका तथ्यलाई निर्णय आधारका रुपमा लिएको छ ।
फैसलाको पूर्णपाठ भने पछि आउने काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
क्रिकेटको राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले ०७९ भदौ ५ गते आफूलाई बानेश्वरबाट नगरकोट घुमाउन लगेको र राति काठमाडौं एयरपोर्ट नजिकै होटल काठमाडौं इनमा लगेर जबरजस्ती करणी गरेको आरोप सहित एक किशोरीले ०७९ भदौ २१ गते प्रहरी समक्ष उजुरी दिएकी थिइन् ।
सोही उजुरीका आधारमा लामिछाने वेष्ट इण्डिजमा क्रिकेट खेलेर फर्कँदा त्रिभुवन विमानस्थलबाटै ०७९ असोज २० मा पक्राउ परेका थिए ।