काठमाडौं - नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको आरोप लगाएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गरेर अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुग्नु पर्नेको आरोप लगाएका हुन्।
पत्रकार सम्मेलनकै क्रममा वितरित देउवाको प्रेस नोटमा काठमाडौंमा निषेधाज्ञा गरिएपछि लाखौ मानिस संक्रमित कम भएको स्थान अर्थात राजधानी बाहिर पुगेको र जसका कारण संक्रमण कम भएको ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको उल्लेख गरिएको छ।
देउवाले कोरोनाको संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रवन्ध मिलाइ निषेधाज्ञाको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न आवश्यक कामहरु गर्न आग्रह गर्दै सरकारलाई ११ बुँदे सुझाव समेत दिएका छन्।
संक्रमितको उपचारका लागि अक्सिजन र भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न, स्वास्थ्य सामग्रीको समुचित व्यवस्था गर्न, पीसीआर परीक्षणलाई व्यापक बनाउन, सीमामा होल्डिङ सेन्टरको व्यवस्था गर्नलगायतका माग काँग्रेसले सरकारलाई दिएको छ।