• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा बेहोस बनाएर तथा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा अनिश्चितकालीन बन्द

खोटाङमा बेहोस बनाएर तथा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा अनिश्चितकालीन बन्द

images

प्रभाव न्यूज

१ कार्तिक २०८०
  • 7.7K
    SHARES
  • images
    खोटाङमा बेहोस बनाएर तथा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा अनिश्चितकालीन बन्द
    images
    images
    images

    खोटाङ - जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर गरिने डेलिभरी र अप्रेसन (शल्यक्रिया) सेवा बन्द भएको छ। जटिल किसिमका गर्भवतीलाई अप्रेसन गर्नेक्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफै बिरामी भएर उपचारको लागि काठमाडौँ गएपछि बेहोस बनाएर गरिने डेलिभरी र अप्रेसन सेवा अनिश्चितकालका लागि बन्द भएको हो ।

    images

    प्रसूति सेवा बन्द भएको बारेमा अस्पतालले सूचना जारी गरेर जानकारी दिएको छ । असोज–३० गतेदेखि लागू हुनेगरी सार्वजनिक गरिएको सूचनामा भनिएको छ, “अर्को व्यवस्था नभएसम्मका लागि जिल्लामा अस्पताल खोटाङमा डेलिभरी र अप्रेसन सेवा बन्द भएको छ । यसबाट पर्न जाने असुविधाप्रति अस्पताल परिवार क्षमा चाहन्छौँ ।”

    अप्रेसनको क्रममा बेहोस गराउने स्वास्थ्यकर्मी उपचारमा गएसँगै अर्को व्यवस्था नभएसम्मका लागि डेलिभरी र अपरेसन सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा. चतुरानन्द यादवले जानकारी दिनुभएको छ । “अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक अस्पताल व्यवस्थापन समितिलाई पूर्व जानकारी गराएर उपचारका लागि काठमाडौँ जानुभएको छ । उपचारमा जानुभएका एनेस्थेसिया सहायक दशैँपछि मात्र उपस्थित हुने कुरा भएको छ”, उहाँले भन्नुभयो, “अर्को एनेस्थेसिया सहायक व्यवस्था गर्ने पहल गरिए पनि सम्भव भएन । उपचार गराएर उहाँ नफर्किएसम्मका लागि बेहोस बनाएर गरिने डेलिभरी र अप्रेसन सेवा बन्द गर्ने निर्णय गरिएको हो ।”

    जिल्ला अस्पतालमा एनेस्थेसियाको बैकल्पिक व्यवस्था नगर्दा बेहोस बनाएर गर्नुपर्ने डेलिभरी र अप्रेसन गर्नुपर्ने प्रकृतिका बिरामीहरु चर्को शुल्कमा हेलिकोप्टर चार्टटर गरेर जिल्ला बाहिर जान बाध्य बनेका छन् । वि.सं. २०४९ वैशाख–१ गते स्थापना गरिएको अस्पतालमा हालसम्म एनेस्थेसिया सहायकको दरबन्दी छैन । जिल्ला अस्पताल स्थापनाको ३१ वर्ष पुग्दा उपचारका क्रममा बेहोस गराउने स्वास्थ्यकर्मीको एउटा दरबन्दी ल्याउन नसकेको भन्दै जिल्लाका नेतृत्वको आलोचना हुने गरेको छ ।

    images

    जिल्लाको एकमात्र सरकारी अस्पतालमा निकसाइमन नामक संस्थाले एक जना एनेस्थेसिया सहायक उपलब्ध गराएको हो । एनेस्थेसिया सहायक बिरामी हुँदा गत वर्ष पनि बेहोस बनाएर गरिने डेलिभरी र अप्रेसन सेवा महिनाभन्दा बढी बन्द भएको थियो । वि.सं. २०७९ भदौ–२६ गतेबाट बन्द भएको सेवा असोज–२७ गतेबाट पुनः सञ्चालन गरिएको थियो । दश स्थानीय तह रहेको जिल्लाको दिक्तेलमा सञ्चालित जिल्ला अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको राष्ट्रिय मानव अधिकार आयोगले समेत औँल्याएको छ ।

    images

    आयोगले गत बुधबार दिक्तेलस्थित आयोगको शाखा कार्यालयमा आयोजना गरेको पत्रकार घेटघाट कार्यक्रममा आयोगका सदस्य मिहिर ठाकुरले अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको पाइएको बताउनुभएको हो । “अनुगमनका क्रममा जिल्ला अस्पताल खोटाङ पुगेका थियौँ । त्यहाँ पुग्दा जीवनजलसमेत भेटिएन । म आफैलाई पनि पेटसम्बन्धी समस्या थियो ।

    आकस्मिक कक्ष पुगेर जँचाउँदा जीवनजलसमेत नरहेको अस्पतालले प्रतिक्रिया दियो”, उहाँले भन्नुभयो, “म आफैले जीवनजल नपाउँने अस्पतालमा सामान्य नागरिकले कसरी सेवा लिइरहेका होलान् भन्ने प्रश्न उब्जिएको छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।” अस्पतालको सेवा प्रवाहप्रति सामाजिक सञ्जालमा समेत ब्यापक आलोचना भइरहेको छ ।

    अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले भने जिल्ला अस्पतालमा भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेकाले प्रभावकारी सेवा प्रवाहमा केही समस्या भएको जनाएको छ ।

    लामो समयसम्म १५ श्ययामा सञ्चालन भएको जिल्ला अस्पताल खोटाङमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । यसअघि शल्यक्रिया तथा बिरामी राखेर उपचार गरिने भवन लगायतका भौतिक संरचना हटाएर त्यस ठाउँमा ५० श्ययाको सुविधा सम्पन्न भवन निर्माणको काम तीव्रगतिमा भइरहेको पाइएको छ ।

    images
    images

    प्रकाशित :कार्तिक १, २०८० बुधवार - ०९:४२:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij