खोटाङ- विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर बन्द गरिने भएको छ।
दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर बैशाख १५ गतेदेखी बैशाख मसान्तसम्म बन्द गरिने भएको हो।
विश्वभरका दर्शनार्थी तथा पर्यटक भित्रने त्रिधार्मिकस्थल हलेसी मन्दिर जिल्ला प्रशासन कार्यालय खोटाङ जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबारको बैठकले बन्द गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।
हलेसी मन्दिर भक्तजन तथा पर्यटकका लागि बन्द गरिए पनि बालपुजारीबाट साँझ-बिहान गरिने पूजाआजा भने नियमित हुने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए।
उनले भने, “अन्य समय हलेसी मन्दिरको मुख्यद्वार तथा बसाहा गुफाको प्रवेशद्वार भने बन्द गरिने छ।” हलेसीमा हुने सन्ध्याकालीन आरतिसमेत बन्द गरिएको राईको भनाई छ।
यस्तै जिल्लामा भएका अन्य धार्मिक तथा पर्यटकीय स्थल, मठ मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा, चर्चहरु पनि नैनित्य पुजा ( विहानको पुजा) बाहेक अन्य समयमा बन्द गरिने भएको छ।
विश्वभरका दर्शनार्थी तथा पर्यटक भित्रने त्रिधार्मिकस्थल हलेसी मन्दिर बन्द भएको यो दोस्रो पटक हो।