• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


‘ खानपानमा ध्यान नदिँदा अल्सर हुन्छ’

‘ खानपानमा ध्यान नदिँदा अल्सर हुन्छ’

images

प्रभाव न्यूज

१५ भाद्र २०८०
  • 6.5K
    SHARES
  • images
    ‘ खानपानमा ध्यान नदिँदा अल्सर हुन्छ’
    images
    images
    images

    अहिले नेपालमा धेरै जना ग्यास्ट्रिकको समस्याबाट पीडित छन् । नेपालमा ग्यास्ट्रिकलाई राष्ट्रिय रोगभन्दा पनि कम नहोला । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुनिनु, ग्यास बढ्नु र यस कारण शरीरमा विभिन्न रोग निम्तिनु पनि हो । अनियमित खानपान, राति धेरै समय जागा बस्नु, हतार–हतार खानु, लगातार एकै स्थानमा बस्नु लगायतका समस्याले ग्यास्ट्रिक हुने चिकित्सक बताउँछन् । हाम्रो शरीरमा एसिड उत्पादन बढी हुने कारणले ग्यास्ट्रिक हुन्छ । साथै हर्मोनको कारणले पनि ग्यास्ट्रिक हुन्छ ।

    images

    धेरै रक्सी पिउने मान्छेमा पनि एसिड बढी निस्किने हुन्छ र फलस्वरूप त्यसले ग्यास्ट्रिक गराउँछ । कतिपय रोगीले खाने औषधिले पनि ग्यास्ट्रिक हुनसक्ने चिकित्सक बताउँछन् । ग्यास्ट्रिकलाई सामान्य ठानेर त्यसै बस्नु हुँदैन । यदि ग्यास्ट्रिक बिग्रिएमा आन्द्राको अल्सर हुनेलगायतका विभिन्न रोगको सम्भावना उच्च हुन्छ । त्यसैले ग्यास्ट्रिकको समस्या पालेर राख्नुभन्दा यसको समाधानतर्फ जानु पर्दछ ।

    यसै विषयमा आधारित रहेर खबरहबले पेट रोग विशेषज्ञ डा. दीपकराज पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश : ग्यास्ट्रिकको समस्या भनेको के हो ?पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्नेलगायतका लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्रिक हो ।

    ग्यास्ट्राइटिसको समस्याले पेटमा ग्यास बन्छ । यस्तो अवस्थामा पेट फुल्छ र पीडा हुन थाल्छ । पेट दुख्नेबित्तिकै ग्यास्ट्रिक नै भएको हो भन्न त सकिन्न । हजारौँ कारणले पेट दुख्छ । तर पेटको माथिल्लो भागमा इन्फेक्सन हुनुलाई ग्यास्ट्रिक भनिन्छ ।

    images

    ग्यास्ट्रिक के कारणले हुन्छ ?मानसिक तनाव धेरै लिँदा, धेरै मात्रामा चिया, कफी, चुरोट र रक्सीको सेवन गर्दा पनि ग्यास्ट्रिकले सताउँछ । साथै जथाभावी दुखाई कम गर्ने र धेरै प्रकारका औषधि र पिरो, धेरै चिल्लो, लामो समयसम्म प्याकेटमा राखेको खाना खाँदा र लामो समयसम्म खालि पेट बस्ने मान्छेलाई ग्यास्ट्रिकले सताउँछ । पेटको माथिल्लो भागमा इन्फेक्सन के कारणले हुन्छ ?

    images

    हाम्रो शरीरमा एच पाइलोरी नामक ब्याक्टेरिया हुन्छ । हामीले खानपानमा उचित ध्यान नदिँदा त्यो सक्रिय भई त्यसले ग्यास्ट्रिकदेखि अल्सरसम्म गराउनसक्छ । जसका कारण आन्द्रामा प्वाल पनि पार्नसक्छ । ग्यास्ट्रिकका लक्षण के हुन् त ? ग्यास्ट्रिक हुँदा छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने हुन्छ, साथै पेट पोल्ने, भोक नलाग्ने, अम्लपित्त बढ्ने, पेट भारी हुने, रिँगटा लाग्ने, टाउको दुख्ने, पेट फुल्ने, वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ–ढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुँडल्ने, तौल कम हुने, अमिलो पानी वा डकार आउने, खाना नरुच्ने, घाँटीमा केही अड्केको जस्तो महसुस हुने लगायतका लक्षण देखिन्छन् ।

    यदि कसैलाई यस्ता लक्षण देखिए भनेर अनुमानको आधारमा मलाई ग्यास्ट्रिक नै भएको हो भनेर घरमा बसेर औषधि खानु भन्दा अस्पतालमा चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ । किनभने आफूले ग्यास्ट्रिक सोचेको रोग अरू नै रोग पनि हुनसक्छ । पेटको माथिल्लो भागको दुखाइलाई हामी कोलेस्टेसिस भन्छौँ । यो पित्तथैलीको इन्फेक्सनले हुन्छ ।

    प्यान्क्रियाजको इन्फेक्सनले ज्यान पनि जान सक्नेसमेत सम्भावना हुन्छ । लक्षणका आधारमा ग्यास्ट्रिक नै हो भनेर औषधि किनेर ल्याएर खाँदा के हुन्छ त ? जो कोहीले पनि ग्यास्ट्रिकको भनेर औषधि खाँदा असर त गर्दैन, तर यसले दीर्घकालीन रूपमा शरीरमा अन्य रोग लागेको रहेछ भने खतरा हुनसक्छ । यदि ग्यास्ट्रिक नै हो भनेर अस्पताल समयमा गएर डाक्टरले दिएको औषधि खाँदा यो रोग औषधिले नै निर्मूल हुन्छ । कुनै अप्रेसनको अवश्यकता पर्दैन । ग्यास्ट्रिक हुँदा कस्तो लापरबाही गर्याे भने अल्सर हुने हो त ?

    यदि लामो समयसम्म ग्यास्ट्रिक भयो र समयमै ध्यान दिइएन भने त्यही ग्यास्ट्रिक बढ्दै जान्छ र पछि गएर अल्सर हुने हो । एच पाइलोरी नामक ब्याक्टेरियाले अल्सर गराउँछ । बाहिरको चिल्लो पिरो खाना धेरै खादा वा समयमा खाना नखाँदा अल्सर हुने सम्भावना हुन्छ । चिकित्सकको परामर्शबिना मेडिकलबाट ब्रुफिन, पेनकिलरजस्ता दुखाई कम गर्ने औषधि किनेर खाँदा केही दिन दुखाई रोकिएला तर रोग निको हुँदैन । त्यसैले, समयमा नै अस्पताल गएर जाँच गरी उपचार गराउनु पर्दछ । ग्यास्ट्रिक हुँदा के खाने, के नखाने ?

    ग्यास्ट्रिक भएपछि उमालेको पानी पिउने, माछा मासु धेरै नखाने, सन्तुलित भोजन गर्ने, लामो समयसम्म भोकै नबस्ने, धेरै तातो खानेकुरा नखाने, मदिरा र सूर्तीजन्य पदार्थको सेवन नगर्ने, ठिक मात्रामा चिल्लो पदार्थ आवश्यक मात्रामा खाने गर्नुपर्छ । खाना र औषधि समयमा खाने, थोरै–थोरै खाना खाने तर धेरै पटक खाने गर्दा राम्रो हुन्छ । धेरै चिन्ता पनि लिनु हुँदैन किनभने तनावले पनि ग्यास्ट्रिक देखा पर्नसक्छ ।

    ग्यास्ट्रिक हुनै नदिन के गर्न सकिन्छ ? समयमा खाना, खाजा खाने, तनाव नलिने, बाहिरको खाना सकेसम्म नखाने, धेरै चिल्लो/पिरो अमिलो र भुटेको, फ्राई खाना नखाने, बिहान उठ्ने बित्तिकै केही खाई हाल्ने, प्रशस्त पानी पिउने, दूध नपिउने, मद्यपान र धूम्रपान नगर्ने, चिया र कफी नपिउने, जङ्क फुड नखाने, उपयुक्त मात्रामा व्यायाम गर्ने गर्नुपर्छ ।

    र, यति गर्दा गर्दै पनि केही समस्या आयो भने अस्पताल गएर जँचाउने गर्नु पर्दछ । बिनाजँचाइ आयुर्वेदिक तथा अन्य औषधिको प्रयोग नगरेको राम्रो हुन्छ ।

    images
    images

    प्रकाशित :भाद्र १५, २०८० शुक्रवार - ११:०१:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij