काठमाडौँ– पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न निकै सतर्कता अपनाउनु पर्दछ । नत्र यसले ज्यानसमेत लिन सक्ने चिकित्सकहरुको भनाइ छ ।
गर्मी मौसममा विषेशगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर पनि चिनिन्छ ।अत्यधिक गर्मीका कारण शरीरबाट धेरै पसिना बग्दछ । जसकारण शरीरमा नुन र पानीको कमी हुन्छ ।
यसले शरीरको रगतमा तापमान वृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु नै लू लाग्नु हो । यस्तो छ ‘लू’ लाग्ने कारणयो गर्मी मौसममा जब हामी अनावश्यक रुपमा वा लापरबाही गरी घरबाहिर निस्कन्छौँ, तब चर्को घाम र तातो हावाले शरीरको बाहिरी छालालाई तातो बनाइदिन्छ ।
र, पसिनाको माध्यमबाट शरीरभित्र भएको नुन र पानीको मात्र बाहीरीन्छ फलस्वरुप ‘लू’ लाग्न सक्छ । यस्ता छन् ‘लू’ का लक्षणहरू शरीरमा पानी र नुनको मात्रा घट्दै जाँदा रगतको तापमान बढ्न गई टाउको भारी भएको महसुस हुने, नाडीको गति बढ्ने, रगतको गति पनि तीव्र हुने, श्वासप्रश्वासको गति असामान्य हुँदै जाने हुन्छ ।
त्यसैगरी, श्वासको गति अनियमित हुने, ज्वरो बढ्दै जाने, हातको हत्केला र खुट्टाको पैताला पोल्ने, आँखा पोल्ने र कहिले काँही बिरामी अचानक बेहोस हुनेजस्ता लक्षणहरू देखिन्छन् ।
‘लू’ बाट कसरी बच्ने ? – सकेसम्म पहिला शरीरको तापक्रम घटाउनुपर्छ । – बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ । – कहिल्यै पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ । – गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ, यसले ‘लू’ को असर कम गर्छ । – प्याजको रस खाने ।
– चिसो पानीले नुहाउने । – धेरै पसिना आएमा जीवनजल पानी पिउने । – बाहिर निस्कँदा टाउको, कान र गर्दन ढाक्ने गरी कपडा ओढ्ने । वा सिधै सूर्यको किरण छालामा नछिर्ने र हावा छिर्ने खालका कपडा लगाउने ।
– खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने । – चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो- चिया, कफी, सोडाजस्ता पेय पदार्थ । – नरम, मुलायम सुतीको कपडा लगाउने । – चिसो फलफूल वा खानेकुरा सेवन गर्ने ।
– बिहान बेलुका रुखको छहारीमा गएर व्यायाम गर्ने । लू लग्दा के गर्ने ? जो कोहीलाई पनि लू लागेको थाहा पाउन साथ तत्काल अस्पताल नै जानु पर्छ । तर कतिपय अवस्थामा अस्पताल पुग्न सकिएन भने घरमा पनि केही प्राथमिक उपचार गर्न सकिन्छ ।
– लूको पहिलो उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । त्यसैले ‘लू’ लागेको मान्छेलाई तुरुन्त शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ । – बिरामीलाई तुरुन्तै प्याजको रसमा थोरै मह मिसाएर पिउन दिनु पर्छ ।
– दही लगायत मौसमी फलफूलहरू अंगुर, खरबुजा, काक्रो र मौसमको रस लू ग्रस्त बिरामीलाई पिउन दिनुपर्छ । – बिरामीको शरीरमा चिस्याउन चिसो पानी वा बर्फले बारम्बार पट्टी गर्ने । – पानीमा ग्लुकोज मिसाएर पिउने वा कागतीको सर्बत पिउने ।
– कुनै कपडालाई पानीमा भिजाएर बिरामीको जिउ पुछ्ने ।