• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : मन्त्री बस्नेत

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : मन्त्री बस्नेत

images

प्रभाव न्यूज

२० श्रावण २०८०
  • 7.7K
    SHARES
  • images
    स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : मन्त्री बस्नेत
    images
    images
    images

    भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् ।

    images

    भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए । उनले भने, “कतिपय योजना राम्रा हुँदाहुँदै काम हुन नसकेका उदाहरण थुप्रै छन्, स्थानीयवासीको रोजगारी, सुविधा र समृद्धि जोडिएको यहाँ वैदेशिक सहयोगमा देशकै नमूना अस्पताल बन्दैछ, अस्पताल निर्माणलाई अघि बढाउन सबैको समन्वय र सहयोग होस् ।”

    यहाँस्थित पाँच सय ७० रोपनी सरकारी जग्गामा एक हजारदेखि एक हजार पाँच सय शय्याको अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने भनी सरकारले विसं २०७३ मा निर्णय गरेको थियो । उक्त स्थानमा अस्पताल निर्माणका लागि सरकारले चीनसँग अनुरोध गरेकामा केही वर्षअघि चिनियाँ टोलीले त्यस क्षेत्रमा सम्भव्यता अध्ययनसमेत गरेको थियो । अध्ययन टोलीले त्यस बेला जग्गा समथर नभएको तथा बाटो, पानी र विद्युतको पहुँचको विषयमा केही प्रश्न उठाएको थियो । सरकारले प्रधानमन्त्रीको आगामी भ्रमणका अवसरमा चीनसँग उक्त अस्पताल निर्माणका लागि अनुरोध गर्ने तयारी गरिरहेको बुझिएको छ ।

    मन्त्री बस्नेतले भने, “प्रधानमन्त्रीको चीन भ्रमणअघि नै अहिले यहाँ हामीले गर्नुपर्ने प्रारम्भिक कार्य पूरा होस् । कूटनीतिक माध्यमबाट यो आयोजनालाई अघि बढाउनुपर्छ । मौकामा सदुपयोग गर्न सकिएन भने दाताको सहयोग अन्यत्र जान सक्छ ।” चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनताको स्वास्थ्यसँग जोडिएको मुलुककै ठूलो गौरवको आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाले अब निर्माण हुन्छ भन्नेमा ढुक्क भएको बताए ।

    images

    उनले भने, “विकल्प खोज्नपर्छ कि भन्ने चिन्ता हराएको छ, जग्गाको सीमाङ्कन, सडक विस्तार र पूर्वाधार निर्माणका लागि आवश्यक अन्य कुनै विषयमा समस्या छैन, दाताबाट हुन सकेन भने पनि अस्पताल निर्माणलाई अब सरकारले आफैँले भने पनि अघि बढाउनुपर्छ ।” सो अवसरमा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल, सडक विभागका महानिर्देशक मेघराज मरासिनी, भवन विभागका महानिर्देशक मचाकाजी महर्जन तथा जिल्ला नापी कार्यालय र विद्युत् कार्यालयका प्रमुखले आआफ्ना कार्यालयले गर्नुपर्ने जिम्मेवारी र प्रगति विवरण प्रस्तुत गरे ।

    images

    उनीहरूले राष्ट्रिय गौरवको अस्पताल निर्माणका लागि स्थानीयवासीलगायत सबैको सहयोग र समन्वय रहेको तथा भक्तपुरकै मुहार फेरिने भएकाले कहिले निर्माण हुन्छ भनेर आतुरका साथ प्रतीक्षा गरिरहेको बताए । उक्त अस्पतालका लागि सल्लाघारीदेखि दुवाकोट, खड्काडील र मुलपानी सडक १२ देखि १४ मिटर चौडाइका दुई प्याकेजमा पहुँच मार्ग निर्माणका लागि ठेक्का लागेर काम अघि बढिरहेको जानकारी दिइयो ।

    मुलुककै स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याई प्रगति हासिल गर्ने हेतुले अघि सारिएको अस्पताल निर्माणमा स्थानीय, जनप्रतिनिधि सरोकार निकाय सबैको सहयोग र समन्वयको खाँचो औँल्याउँदै अन्तरक्रियामा सहभागी वक्ताले विकास र समृद्धि सबै पक्षको सहयोगमा जोड दिए ।-रासस

    images
    images

    प्रकाशित :श्रावण २०, २०८० शनिवार - २१:१७:२२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij