खोटाङ - मर्यादा पुरुषोत्तम श्री रामको पूजा आराधना गरि बुधबार रामनवमी पर्व मनाइएको छ। हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ। भगवान रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ।
रामनवमीको अवसरमा राममन्दिरमा भक्तजनको भिड लाग्ने गर्दछ। असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा आज राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको छ।
त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ। आजका दिन देशभरका विभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने गरिन्छ।
रामनवमीको अवशरमा खोटाङको हलेसीमा देशभीत्र तथा देशबाहिरका भक्तजनहरुको घुईचो लागेको छ। आज मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, चीन, तिव्वत, भुटान लगायतका देशबाट दर्शनार्थीहरु हलेसी आएका छन्।
हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र महादेब गुफा, बसासा गुफा, गर्दुङ गुफा, भैरब गुफा, दुंदेलो गुफा, धर्मद्धार, पापद्धार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु आएका छन्। प्रदेश -१ की सामाजिक विकास मन्त्री उषाकला राई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर विमला राईले आज विहानै हलेसी महादेवको विशेष पुजाअर्चना सहित गहना पहिर्याएका छन्।।
हलेसी महादेवस्थानको दर्शन गर्नाले के पाईन्छ ?
हलेसी महादेवस्थानको दर्शन गर्नाले चिताएको कुरा पुराहुने धार्मीक जनविश्वासका आधारमा धेरै भक्तजनहरुको ओईरो लाग्छ । धार्मीक मान्यता अनुसार विलक्षण सुन्दरी महादेवकी पत्नी पार्वती देखि विछट्टै आकर्षित भई पार्वती प्राप्त गर्न तथा आफू वलवान बन्ने आशिर्वाद माग्न ज्यादै कष्टपूर्ण तवरले राक्षस वकासुरले १२ हजार वर्ष सम्म तपस्या ग-यो, त्यसैबाट प्रभावित भई महादेवबाट वकासुरले आशिर्वाद प्राप्त ग-यो र महादेवकै सिरमा हात राखि महादेवलाई भष्म गर्न खोजेपछि राक्षस बकासुरबाट बच्न महादेव भाग्दै गई हलेशीमा लुक्न पुगे र सोही समयमा मित्र विष्णुले मोहनी सुन्दरीको रुप धारण गरी वकासुरलाई भष्म पारिदिए । तत् पश्चात हलेशी महादेवस्थानमा भगवान शिव विरजमान भएको किंवदन्ती रही आएको छ ।
सदरमुकाम दिक्तेलदेखि आठ कोष पश्चिममा रहेको हलेशी गुफा धार्मीक आस्थाको आधारमा हिन्दु, वौद्ध र किरात तिनै धर्मको आस्थाको केन्द्र रहेको छ । हलेशी महादेवस्थानमा रहेका गुफा तथा वौद्ध स्तुपहरु पर्यटकीय धरोहरको रुपमा रहेको छ । यहाँ चैत्र वा बैशाखमा रामनवमी मेला १५ दिन, मंसिरमा वालाचतुर्दशी मेला १२ दिन, फाल्गुणमा शिवरात्री मेला ७ दिन र भदौमा तीज मेला एक दिन लाग्ने गर्दछ।
यहाँ रहेका पापद्धार, धर्मद्धार, स्वर्गद्धार, जन्मद्धार र घोप्टेद्धार छिर्दा १८ वटा नरक बाट मुक्ति पाईने धार्मिक मान्यता छ । सन्तान नभएकाहरुलाई पुत्रलाभ हुनका साथै शरिरमा भएका रोगव्याधी निको हुने र मनोकांक्षा पुरा हुने धार्मिक मान्यता अनुसार दर्शनार्थी तिर्थालु भक्तजनहरुको भिड लाग्ने गरेको छ ।