काठमाडौं - नेपालमा आगामी असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना संक्रमण हुनसक्ने आंकलन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा आगामी असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना संक्रमण हुनसक्ने प्रक्षेपण गरेको हो।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अबको ९ हप्ताको बीचमा संक्रमण दर निकै उकालो लाग्ने र कठिन समय आउनसक्ने बताए। लापरवाही बढ्दै गए असारको पहिलो साता भित्रै दैनिक ११ हजार संक्रमित थपिन सक्ने बताए।
असारसम्म १५ हजार व्यक्तिमा जटिल स्वास्थ्य समस्या देखिने सक्ने पनि उनले जनाए। स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सरकारले लागू गरेका मापदण्ड पालना गरेमा ठूलो चुनौती रोक्न सकिने र लकडाउनको अवस्था टार्न सकिने औंल्याए।
संक्रमितको संख्या बढेसँगै तत्काल १० हजार आइसोलेसन बेड बनाउनुपर्ने र आइसोलेसन सेन्टरका लागि प्रदेश सरकारलाई समेत निर्देशन दिइएको उनले जानकारी दिए।