खोटाङ- नेपाल कराते महासंघ खोटाङले राष्ट्रपति रनिङ शिल्डको प्रदेशस्तरिय छनौट प्रतियोगीताका लागि छनौट भएका कराते र तेक्वान्दो खेलाडीलाई विदाई गरेको छ।
जिल्ला खेलकुद विकास समितिको कार्यालयमा शनिबार कार्यक्रम गर्दै महासंघले आगामी बैसाख ११ गतेदेखि १३ गतेसम्म सुनसरीमा सञ्चालन हुने राष्ट्रपति रनिङशिल्डको प्रदेशस्तरिय प्रतियोगीतामा सहभागी हुन जाने कराते र तेक्वान्दो खेलाडीलाई विदाई गरेको हो।
करातेका ६ जना, तेक्वान्दोका ५ जना खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई महासंघले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा ट्र्याक सेट वितरण गर्दै विदाई गरेको हो।
राष्ट्रपति रनिङशिल्डको प्रदेशस्तरिय प्रतियोगीताका लागि करातेतर्फ कुमितेमा ४० केजी समुहमा यादमा राई, ४५ केजी तौल समुहमा आयुष्मा राई, ५० केजी तौल समुहमा निलम श्रेष्ठ, पुरुष ४२ केजी तौल समुहमा सोनाम राई, ४७ केजी तौल समुहमा दिपेश राई र ५२ केजी समुहमा सुर्यचन्द्र राई छनौट भएका छन्। यस्तै, तेक्वान्दो ग्यारोगीतर्फ ४२ केजी समुहमा रुपा राई, ४४ केजी समुहमा अप्सरा राई, ४५ केजी समुहमा खिमबहादुर शाही र ४८ केजी समुहमा विकल कुलुङले प्रतिष्पर्धा गर्दैछन् ।
करातेको टिम व्यवस्थापक निमछिरी शेर्पा र प्रशिक्षकको जिम्मेवारी मोतीचन्द्र राईले पाएका छन्।
तेक्वान्दोतर्फ मोहन राईले प्रशिक्षकको भूमीका निर्वाह गर्दैछन्। खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई प्रमुख अतिथि सरस्वती माबि दिक्तेलका प्रअ केशरकुमार राई, विशेष अतिथि जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रेनुका राई, करातेका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङ, कराते महासंघको केन्द्रीय सदस्य सञ्जयकुमार राई, कराते प्रशिक्षक गोपाल राई लगायतले ट्र्याक हस्तान्तरण गरेका थिए।
छनौटमा परेका कराते खेलाडीलाई चैत २७ गतेदेखि बैसाख ८ गतेसम्म बन्द प्रशिक्षणमा राखिएको नेपाल कराते महासंघका अध्यक्ष सुमन राईले बताए।
प्रदेश र राष्ट्रिय प्रतिष्पर्धामा जित्नेलाई नगद पुरस्कार प्रदान गर्ने तामाङको घोषणा
कार्यक्रममा अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेतालाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।
करातेका प्रशिक्षक एबं अन्र्तराष्ट्रिय रेफ्री तामाङले प्रदेशमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार तथा राष्ट्रिय प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार ५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन्।
सितोरियो कराते खेलाडीको मनोवल बढाउन र खेलक्षेत्रको प्रवद्र्धनका लागि विजेतालाई व्यक्तिगत रुपमा पुरस्कार दिने घोषणा गरेको तामाङले बताए। तामाङले यसअघि पनि प्रदेश र राष्ट्रिय प्रतियोगीताका विजेतालाई नगद पुरस्कार प्रदान गरेका थिए।