खोटाङ- खोटाङमा सर्वाधिक राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ। आउँदो वैशाख २ गतेदेखी ९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्डकपको आयोजना हुने भएको हो।
जन्तेढुंगा गाउँपालिकाका वडा नम्बर–५ को खर्क खेलमैदानमा आयोजना हुने गोल्डकपको प्रथम पुरस्कार राशि २ लाख ५५ हजार ५ सय र साथमा कप, मेडल, प्रमाणपत्र रहेको छ। दोश्रो पुरस्कार १ लाख ५५ हजार ५ सय, कप, मेडल र प्रमाणपत्र रहेको छ।
जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने गोल्डकपमा सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ५०–५० हजारका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन्।
जन्तेढुंगा खेलकुद विकास समितिले शुक्रबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मलेन गरेर एकजना बेष्ट स्टाइकरलाई १० हजार, एकजना गोल्डकिपरलाई १० हजार, एकजना डिफेण्डरलाई १० हजार र एकजना म्यान अफ द म्याचलाई ५ हजारको पुरस्कार राशि राखिएको जनाएको छ।
खेल क्षेत्रको प्रवर्धन र विकासका साथै खेलाडीहरुको क्षमतामा टेवा पुर्याउने उद्वेश्यले गोल्डकपको आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। गोल्डकपमा अनुमानित ३० लाख भन्दा माथिको लागत रहने बताइएको छ। खेलाडीहरुका लागि खाना, बासलगायतको व्यवस्थापन तथा १५ दिनभित्र टिम दर्ताको प्रकृया सुरु गरिने बताइएको छ।
फुटबलमा व्यावसायिक खेलाडी उत्पादन तथा व्यवसायीकरणका लागि गोल्डकपको आयोजना गरिएको जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले बताए। उनले भने, ‘ खेलाडीसँगे गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिका लागि पनि गोल्डकपको आयोजना गरिएको हो।’
फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकास्तरीय खेलकुद विकास समिति एन्फामा दर्ता गर्ने प्रकृया पनि अगाडि बढाइने राईको भनाई छ ।
खेलकुदको माध्यमबाट खेलाडीसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने समितिका सचिव अमित राईले बताए।
गोल्डकपलाई सफल बनाउन खेल क्षेत्र, निकाय, तथा आम खेलप्रेमी जनसमुदायलाई अपिल गरिने आयोजकको भनाई छ।
गोल्डकपलाई सहयोग गर्ने दातालाई कार्यक्रम समापनका दिन धन्यबादसहितको कदर पत्र प्रदान गरिनेछ।
देश तथा विदेशमा रहेका खेलप्रमी महानुभावहरुबाट गोल्डकप सफल बनाउन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष अरुणा देवी राई र उपाध्यक्ष खेम बहादुर खड्कालगायतको सहभागिता रहेको थियो।