• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


कोभिड -१९ किन नेपालीहरूको लागि वरदान ?

कोभिड -१९ किन नेपालीहरूको लागि वरदान ?

images

प्रभाव न्यूज

२९ पौष २०७७
  • 18.3K
    SHARES
  • images
    कोभिड -१९ किन नेपालीहरूको लागि वरदान ?
    images
    images
    images

    हाल फैलिरहेको कोभिड – १९ नाम गरेको महामारीले विश्व आक्रान्त भइरहेको छ । अहिलेसम्म यसको कुनै ठोस उपचार विधि निर्माण भइसकेको छैन । विश्वका विभिन्न मुलुकहरूले यसको रोकथामको लागि खोप विधिको आविष्कार गर्ने प्रक्रिया जारिराखेका छन् । यद्यपि अहिलेसम्म कुनै पनि मुलुक वा कम्पनिले व्यापारिक प्रयोजन स्वरुप बाहिर ल्याइसकेको छैन ।

    images

    यो रोग कोरोना नाम गरेको भाइरसको कारणले हुन्छ । कोरोना भाइरस विशेष गरेर व्यक्ति व्यक्तिको सम्पर्कबाट सर्ने भएकोले यसको रोकथामको लागि प्राय सबै मुलुकहरूले लक-डाउन (बन्दाबन्दी) तथा सामाजिक दुरी कायम गर्ने नीति लिएकोछ ।

    यो महामारीले गर्दा अहिले विश्वको गतिविधि ठप्प भएकोजस्तो छ । धेरै मानिसहरूको मृत्यु भइसकेको छ र अझै मृत्यु हुने क्रम जारी छ । त्यसको चपेटामा नेपाल पनि अछुतो नहुने भन्ने भएन । अझ यसले नेपाललाई दोहोरो असर पारेको छ । एकातिर मुलुकभित्र असर गरेको छ भने अर्कोतिर रोजगारीको लागि बाहिर गएका लाखौं नेपालीहरू बेरोजगार भई स्वदेश फर्कनुपर्ने अवस्था आएको छ । जबकि मुलुकको अर्थतन्त्रको ठुलो हिस्सा उनीहरूले कमाएर पठाएको रेमिट्यान्सले थेगेको छ ।

    सरकारी आङ्कडाअनुसारै ४० लाख भन्दा बढी नेपालीहरू रोजगारीका लागि विदेशिएका छन् । ती लाखौं नेपालीहरू आफ्नो देश फर्कन चाहन्छन् । तर बन्दाबन्दीले गर्दा उनीहरू आउन पाएका छैनन् । जे भएपनि ढिलो चाँडो उनीहरू आफ्नो देश फर्कने छन् । मुलुकमा बन्दाबन्दी सुरु भएको पनि लगभग तीन महिना पूरा हुन लागि सक्यो । छिमेकी मुलुक भारतमा पनि कोरोनाको संक्रमित संख्या दिन दिनै बढिरहेको छ । कोरोना फैलिने डरले भारतले पनि लामो समय बन्दाबन्दिको नीति लियो । जसले गर्दा कामको सिलसिलामा भारत गएका धेरै नेपालीहरू काम नभएपछि आफ्नो घर फर्कनु पर्यो ।

    images

    परिणाम स्वरुप भारतबाट लाखौं नेपालीहरू नेपाल भित्रीसकेका छन् र अझै भित्रिने क्रम जारी छ । अन्य मुलुकबाट पनि नेपालीहरू धमाधम फर्कदैं छन् । उनीहरू आएसँगै कोरोनाबाट संक्रमितको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ । प्राय: सवै संक्रमितहरू नेपालबाहिर बसेर आएकाहरू भएको देखिएको छ । यो महामारीको लागि सरकारले गरिरहेको प्रयास त्यति सन्तोषजनक नभएको भनेर चारैतिरबाट गुनासाहरू सुन्नमा आइरहेका छन् ।

    images

    साँच्चै भन्ने हो भने अहिलेसम्म नेपालमा त्यति सारो भयाभह अवस्था आइसकेको छैन । कोरोना संक्रमित भएर मृत्यु हुनेको सङ्ख्या नगन्य छ । विज्ञहरू भन्छन् यो व्याधि त्यति छिटै र सजिलैसित सल्टिदैन । सल्टिनको लागि केही वर्ष लाग्न सक्छ । अरू मुलुकहरूमा भएजस्तैअनुसार आंकलन गर्ने हो नेपालमा भयाभयको अवस्था आउँदा मुलुकले कसरी त्यसको सामना गर्न सक्छ ? त्यो एउटा अहम् प्रश्न छ । किनकि नेपाल सरकारले अहिलेसम्म त्यस किसिमको तयारी गरेको देखिँदैन । न त व्यवस्थित क्वारेन्टाइन, आइसोलासन वा अस्पतालको व्यवस्था गरेको छ । न त जनतालाई कुनै राहत प्याकेजको व्यवस्था गरेको छ । सरकार आफ्नै तालमा नाचिरहेको छ ।

    कोरोनाको कारणले विश्वमा विशेष गरेर आर्थिक क्षेत्रलाई ठुलो धक्का दिएको छ । आर्थिक गतिविधिसँग सम्बन्धित कारोबारहरू ४÷५ महिनादेखि ठप्प छ । यो अवस्था अझै कतिटाढा सम्म जाने हो थाहा छैन । रोजगारीको सिलसिलामा गएका नेपालीहरूको विदेशको रोजगारी पनि पुरानो अवस्थामा फर्कन केही वर्ष लाग्न सक्छ । त्यसले गर्दा धेरै नेपालीहरू स्वदेश फर्कन्छन् । स्वदेशमा फर्केपछि उनीहरूले के गर्छन् त ? उनीहरूलाई अवश्य पनि उही पुरानै खेतीकिसानी गर्न गाह्रो छ किनकि उनीहरूको बानि अर्कै भइसके छ । त्यसो हुँदा बेरोजगारीको ठुलो समस्या आउन सक्छ ।

    यो महामारीले ल्याएको चुनौतीहरू आफ्नो ठाउँमा छन्, तर हाम्रो मुलुकको लागि भने यसलाई चुनौतीभन्दा पनि अवसरको रुपमा लिन सकिन्छ । किनभने हाम्रो देशमा प्रसस्त सम्भावना हुँदा हुँदै पनि हामी नेपालीहरूले प्रगति गर्न सकेका छैनौँ । पहिला पहिला खाद्यान्नलगाएत धेरै कुरामा आत्मनिर्भर हामी नेपालीहरू अहिले सबै चिजहरूमा परनिर्भर भइसकेका छौँं ।

    सबै बस्तुहरू बाहिरबाट किनेर खाने, लाउने हाम्रो बानि लागिसकेको छ । विश्वका गरिब मुलुकहरूको दाँजोमा हामी अग्रपंक्तिमा पर्छौं । हामीसित मानव श्रोतलगाएत प्राकृतिक श्रोत साधनहरू नभएका होइनन्, र पनि प्रगति गर्न सकेनौं । समस्याको पहिचान गरी मुलुकको सम्वृद्धिको लागि सम्पूर्ण नेपालीहरू एकजुट हुन जरुरी छ । यी समस्याहरूका प्रमुख कारणमा अधिकांस नेपालीहरू रोजगारीका लागि विदेश जाने क्रमलाई लिन सकिन्छ ।

    त्यस्तै विदेशमा काम गर्न जाँदा विभिन्न किसिमका अन्य सामाजिक समस्याहरू पनि सँगसँगै उत्पत्ति भईरहेका छन् । जस्तै श्रीमान–श्रीमती लामो समयसम्म टाढा टाढा रहँदा परपुरुष वा परश्री गमनको खतरा हुन्छ भने बाबु र आमा दुवैको रेख देखमा हुर्कनु पर्ने बालबच्चाहरू पनि कि आमाले मात्र हुर्काउनु वा कि बाबुले मात्र हुर्काउनु पर्दा उनीहरूले बढी स्वतन्त्रता पाउँछन् जसले गर्दा ती बालबालिकाहरू पढाइतिर मन नगर्ने वा कुनै बदमासीतिर लाग्ने सम्भावना बढी हुन्छ । यो समस्या झट्ट हेर्दा व्यक्तिगतजस्तो देखिए पनि यो भनेको समाजको समस्या हो र समग्रमा राष्ट्रको समस्या हो ।

    यो कोभिड – १९ ले ल्याएको अवसरको सन्दर्भमा विशेष गरेर रोजगारीका लागि बाहिर गएर स्वदेश फर्किएका नेपालीहरूलाई मुलुकभित्रै रोजगारीको अवसर श्रृजना गर्नु हुनेछ । यसो गर्दा देशमा खाद्यलगायत विभिन्न वस्तुहरूका उत्पादनमा वृद्धि भई मुलुक आत्मनिर्भर बन्नेछ । जसले गर्दा देशको विकास हुनेछ,देश सम्वृद्धशाली बन्नेछ । साथै नयाँ पुस्ताका युवा–युवतीहरूलाई पनि स्वदेशमै रोजगारी उपलव्ध गराई विदेश जानबाट रोक्न सकिन्छ ।

    श्रम गर्ने श्रमिकहरूलाई हेप्नुपर्ने र अराउ खटाउ गर्नेलाई सम्मान गर्नुपर्ने हामी नेपालीहरूको साह्रै नराम्रो सांस्कृतिक चिन्तन छ । त्यही चिन्तनले गर्दा पनि कति नेपालीहरू काम गर्न विदेश जान्छन् । अव यो सोचाइलाई परिवर्तन गरी श्रम गर्नेलाई झन उच्च सम्मान गर्ने संस्कारको विकास गर्न आवश्यक छ । वास्तवमा जापान, अमेरिकालगायत विकसित मुलुकहरूमा श्रम गर्नेलाई सम्मान गर्ने चलन छ ।

    त्यसकारण अवको समाधान भनेको बाहिरबाट फर्केर आएका नेपालीहरूलाई उनीहरूको रुचि र दक्षताअनुसारको रोजगारी दिने व्यवस्था मिलाउनु हो । यसको लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउनु पर्ने हुन्छ । अल्पकालीन भन्नाले लगानी गरेपछि तुरुन्त प्रतिफल वा आम्दानि दिने पेशा व्यावसाय भन्ने बुझिन्छ । अल्पकालिन योजनाका विभिन्न विकल्पहरू हुन सक्छन् । त्यसमध्ये कृषि र पशुपालनसँग सम्बन्धित पेशा व्यावसायलाई पनि लिन सकिन्छ, किनकि कृषि र पशुपालनले प्रतिफल चाँडै दिन्छ । सरकारले कृषिमा आकर्षण बढाउन विशेष कार्यक्रमहरू ल्याउनु पर्ने हुन्छ ।

    कृषि तथा पशुपालनसँग सम्बन्धित व्यावसाय गर्न सानो पूँजिबाट पनि सुरू गर्न सकिन्छ । प्रायः सबै नेपालीहरूसित कृषि तथा पशुपालन सम्बन्धि परम्परागत अनुभव हुने भएकोले पनि यसको लागि त्यति धेरै तालिम लिइरहनु पर्दैन । यो व्यावसायबाट आएको उत्पादन आफूलाई खान हुन्छ भने बढी भएको बेचेर नगद बनाउन पनि सकिन्छ । सरकारले कृषकहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू ल्याउन सक्छ । उदाहरणका लागि जसले कसैलाई खेताला नलगाई आफैं एक मुरी अन्न उब्जाउँछ भने उसलाई अर्को एक मुरी बराबरको रकम प्रोत्साहन स्वरुप राज्यले दिन सक्छ ।
    ठुलो परिमाणमा गर्नका लागि कृषिलाई व्यावसायिकरण गर्न सकिन्छ ।

    केही मन मिल्ने साथीहरूसित मिलेर सहकारीको अवधारणाअनुसार व्यावसायिक रुपमा यो काम गर्न सकिन्छ । सरकारले यसरी सहकारीको धारणाबमोजिम कृषि वा पशुपालन गर्नेहरूको लागि केही राहत कार्यक्रमहरू ल्याएको हुन्छ । त्यस्तै कृषिमा केही दीर्घकालीन योजनाहरू पनि बनाउन सकिन्छ । जस्तै ः फलफुलका खेती गर्न सकिन्छ । कागती, सुन्तला, आँप, लिची तथा स्याउ जस्ता फलफुलको खेती गर्दा एकपटक लगानी गरेपछि यसले धेरै वर्षसम्म बिना लगानी आम्दानि दिइरहन्छ ।

    कृषि तथा पशुपालनसँग सम्बन्धित पेशा व्यावसायदेखिबाहेक सानो लगानीमा साना साना व्यापारहरू जस्तै : खाजा पसल, किराना पसल, जुत्ता चप्पल तथा कपडा पसल आदि गर्न सकिन्छ । तर व्यापार गर्नका लागि केही अनुभव र उपयुक्त ठाउँको छनौट महत्वपूर्ण हुन्छ । अनुभव भएन वा सही ठाउँ परेन भने ब्यापारबाट घाटा पनि हुन सक्छ । कति मानिसहरू व्यापारमा डुबेको कारणले विदेश जान वाध्य भएका छन् ।

    दीर्घकालीन रोजगारीको लागि मुलुकमा प्रशस्त उद्योगधन्दाहरू खुल्नु पर्छ । उद्योगधन्दाअन्तर्गत् बस्तु उत्पादन र सेवामुखी उद्योगहरू पर्छन् । उद्योगहरू खोल्नका लागि बृहत योजना बनाएर सरकारले नै पहल गर्नुपर्छ । हाम्रो देशमा सेवामुखी अर्थात् टुरिज्म वा हस्पिटालिटी उद्योगहरूको राम्रो अवसर छ ।

    सार्बजनिक, नीजि र साझेधारी धारणाअन्तर्गत उद्योगहरू खोलिनु पर्छ । त्यस्तै नीजि क्षेत्रलाई पनि प्रोत्साहन दिनुपर्छ । यसरी उद्योगधन्दा खोल्दा एकातिर जनताले रोजगारी पाउँछन् भने अर्कोतिर मुलुकको पैसा मुलुकभित्रै रहन्छ र मुलुकको निर्यात घाटा पनि कम हुन्छ ।

    नेपालमा उद्योगहरू विल्कुलै नभएको होइन, प्रशस्तै थिए, तर विभिन्न कारणबस ती उद्योगहरूलाई समाप्त पारियो । जुन कार्य ज्यादै गलत थियो । ती भएका उद्योगहरू पहिलाको सरकारले मास्यो भनेर मात्र पन्छिन मिल्दैन अवका सरकारहरूले फेरि स्थापना गरी मुलुकको जनशक्तिलाई रोजगारी दिलाउनु पर्छ । नत्रभने जनताका लागि हिजोका सरकार र आजका सरकारमा के भिन्नता भयो ? प्रसस्त उद्योगहरू भए भने जनतालाई रोजगारी मात्र नभएर राष्ट्रिय पूँजी पनि निर्माण हुन्छ । राष्ट्रिय पूँजी निर्माण भएपछि मात्र मुलुकमा समाजवाद अर्थात् लोक कल्याणकारी राज्य निर्माण गर्न सकिन्छ ।

    सामान्यतया सहर बजारमा बस्ने एउटा ठिक्कको परिवारको लागि घर खर्चबापत रु. ३०००० देखि रु. ५०००० सम्म आवस्यक पर्छ भने गाउँमा बसोबास गर्नेको लागि रु. १५००० देखि रु. ३०००० सम्म लाग्न सक्छ । मानिसहरूले आ–आफ्नो रुचि, परम्परा र अवसरको आधारमा जीवन वृत्तिका बाटाहरू अपनाइरहेका हुन्छन् । गाउँ घरमा बस्नेहरू प्रायः सवैजसो खेतीपाती तथा पशुपालनमा व्यस्त हुन्छन् भने सहर बजारमा बस्नेहरू प्रायः व्यापार व्यवसाय तथा जागिरमा संलग्न हुन्छन् । वास्तवमा भन्ने हो भने मासिक यति रकम आर्जन गर्न त्यति ठुलो चुनौती होइन । गाउँघरमा कृषि र पशुपालन व्यावसायबाट पनि यति आम्दानी गर्न सकिन्छ । तर, कृषिको लागि सिंचाई अति महत्वपूर्ण हुन्छ ।

    गाउँमा विकास हुनका लागि गुणस्तरीय शिक्षा र स्वास्थ सेवा आवश्यक छ । सरकारले लागु गरेको स्वास्थ्य बीमा सबैले लिन आवश्यक छ । हामीलाई ठुलो खर्च हुने भनेको स्वास्थ उपचारमा हो । व्यक्तिलाई आर्थिक सम्पन्न बनाउन आम्दानि बढाएर मात्र पनि हुँदैन । उनीहरूको सम्भावित फजुल खर्च पनि कम हुनुपर्छ । सरकारले यसबारे ठोस अवधारणा ल्याउनु पर्छ । फजुल खर्च गर्ने गराउने माध्यमहरूलाई पुरै नियन्त्रण गर्नुपर्ने हुन्छ । कृषक तथा कम आम्दानी हुनेको लागि भरोसाको केन्द्र सरकार हुनुपर्छ ।

    सरकारले खालि कर मात्र असुली गरेर जनतालाई ढाड सक्नु मात्र रामे होइन । परेको बखत जनताले पनि सरकारबाट राहत पाउनु पर्छ । यसरी राज्यले गाउँमा बस्नेहरूको लागि सहज वातावरण बनाउन सक्छ ।

    त्यसकारण कोभिड – १९ हाम्रो लागि चुनौति होइन वरदान हो किनकि यसले हामीलाई स्वदेशमै रोजगारी श्रृजना गरी आत्मनिर्भर बन्दै सभ्य र शान्तिमय समाज निर्माण गर्ने अवसर प्रदान गरेको छ ।

    • डा.राजकुमार राई, खोटाङ

    images
    images

    प्रकाशित :पौष २९, २०७७ बुधवार - १५:५१:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij