ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागी भएको छ। आगलागीबाट ४९ घर जलेर खरानी बनेको छ।
मेरिङदेन गाउँपालिका ३, खाम्लुङमा मंगलबार बिहान स्थानीय भोलानाथ पौडेलको घरबाट आगो उठेको थियो।
विद्युत् चुहावट (सर्ट) भई सुरु भएको आगोले अन्ततः बजारका ४९ वटा घर खरानीमा परिणत गरिदियो। विहान ९ः२५ बाट सुरु भएको आगलागी नियन्त्रण गर्न फुङलिङबाट गएको दमकल, प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय बासिन्दालाई हम्मेहम्मे परेको थियो।
आगोले दोभान बजारलाई उजाड बनाइदिएको छ । आगलागीको खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपीको नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन भएको थियो। ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले ३३ घरधनीका ४९ वटा घर जलेर नष्ट भएको र यसबाट २२ जना डेरावालसमेत आगलागीबाट पीडित बनेको जानकारी दिएकी छन्।
आगलागीमा भएको क्षतिको यकिन नभएको तर पीडितलाई अस्थायी रुपमा राखिएको उनले जानकारी दिइन्।
खानाको प्रबन्ध रेडक्रस, उद्योग वाणिज्य संघ र सामाजिक संस्थासमेतको सहभागितामा भएको बताइएको छ। केही वर्ष पहिले ताप्लेजुङ सदरमुकाम फुङलिङमा भिषण आगलागी हुँदा बजार सखाप भएको थियो ।