काठमाडौं - बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई जेल नपठाउने तयारी सरकारले गरेको छ।
सरकारको तर्फबाट अनुसन्धान गरिरहेका प्रहरी र सरकारी वकिलबीच पक्राउ परेका व्यक्ति नाबालिग भएकाले जेल नपठाएर सुधार गृह पठाउनेबारे छलफल चलेको छ।
पक्राउ परेका अभियुक्त दिनेश भट्टको एसईई परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र अनुसार उनलाई १६ वर्ष पूरा भएको छैन। स्थानीय भूमिराज माध्यमिक विद्यालय चडेपानीका प्रधानाध्यापक प्रजापति भट्टले एसईईको प्रमाण पत्रमा दिनेशको जन्म मिति २०६१ फागुन १० गते उल्लेख रहेको बताए।
यसरी दिनेशलाई आगामी फागुन १० गते मात्रै १६ वर्ष पूरा हुनेछ। नागरिकता बनाउन उमेर नपुगेकाले प्रहरीले विद्यालयबाटै जन्म मिति प्रमाणित गराएर उनलाई जेल नपठाई सुधार गृह पठाउनेबारे छलफल गरिरहेको छ। घटना भएको दिन माघ २१ गतेलाई आधार मान्दा दिनेशलाई १६ वर्ष पूरा हुन २० दिन बाँकी रहने देखिएको छ।
हत्या अभियोग पुष्टि भएमा दिनेशले पाउने सजायमा बालबालिका सम्बन्धी ऐन २०७५ पनि आकर्षित हुनेछ। ऐन अनुसार १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई नाबालिग मानिन्छ। १६ वर्ष उमेर पुगेको भए पनि ७५ प्रतिशत सजाय हुने कानूनी प्रावधान रहेको छ।
बालबालिका सम्बन्धी ऐनको दफा ३६ उपदफा (३) मा उल्लेख छ, ‘१४ वर्ष वा सोभन्दा माथि र १६ वर्षभन्दा कम उमेरको बालबालिकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानुन बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ।’