खोटाङ, जेठ २२ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले सम्पत्ती विवरण सार्वजनिक गरेका छन्।
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भट्टराईले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका हुन्।
नगर प्रमुख भट्टराईले आफ्नो केही ठाउँमा जग्गा, घर, नगद तथा अफसेट प्रेस र थुक्पा उद्योगमा लगानी रहेको जानकारी दिएका छन्।
जिल्लाका १० स्थानीय तहमध्ये सम्पत्ती विवरण सार्वजनिक गर्ने नगर प्रमुख भट्टराई पहिलो हुन्।
नगर प्रमुख भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा १६ रोपनी २ आना ३ दाम पैतृक जग्गा रहेको, आमा पद्मकुमारी भट्टराईको नाममा सगोलमा ३ रोपनी ४ दाम जग्गा रहेको, भक्तपुरमा श्रीमतीको नाममा ९ आना २ पैसा जग्गा रहेको, उदयपुरको रामपुरमा साँढे २ कट्ठा जग्गा श्रीमतीको नाममा रहेको, दिक्तेलमा साँढे ६ आना जग्गामा ८ कोठे २ तले काठको घर रहेको जानकारी दिएका छन्।
यस्तै, श्रीमतीसँग सुनको गहना ७ तोला, चाँदी १६ तोला, श्रमतीकै नाममा बाणिज्य बैंकमा नगद ८० हजार रहेको सार्वजनिक गरेका छन्।
डिल्लीबजार काठमाण्डौंमा साझेदारीमा २०६७ सालदेखि हलो हलेसी अफसेट प्रेस सञ्चालनमा रहेको र दिक्तेलमा साझेदारीमा थुक्पा उद्योग स्थापना गरेको भट्टराईले जानकारी दिए।
थुक्पा उद्योग स्थापना गर्नेक्रममा ग्लोवल आइएमई बैंकबाट ७ लाख ५० हजार ऋण लिइएको भट्टराईले सार्वजनिक गरेका छन्।
सामान्य आर्थिक अवस्थाका नेता जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि रातारात करोडपति बन्ने गरेको उल्लेख गर्दै भट्टराईले आफ्नो पाँच वर्षे कार्यकालमा आर्थिक अवस्था तथा जीवनशैलीमा कुनै फेरबदल नआउने दावी गरे।
‘नेपालमा राजनीति सामाजिक सेवा होइन कमाउने उद्योग बन्यो। निर्वाचित भएपछि नेता रातारात करोडपति बन्छ। न उसको कुनै उद्योग कलकारखाना छन न व्यापार व्यवसाय नै। उ नागरिक भन्दा उपल्लो दर्जाको साहेव भएको घमण्ड गर्छ, विगतको हैसियत भुल्न पुग्छ,’ नगर प्रमुख भट्टराईले भने, ‘यो गतिशील, परिवर्तनशिल र जवाफदेही हुने समयमा आफैले परिवर्तन नगरे कसले गर्ने? अव परिवर्तन नभए कहिले हुने? यो सोच र दृढता लिएर सम्पत्ती विवरण सार्वजनिक गरेको हुँ।
पाँच वर्ष साहव होईन सेवकका रुपमा काम गर्नेछु।’