खोटाङ, जेठ १६ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सरकारले कार्यान्वयमा ल्याएको स्वास्थ्य बिमा उपचार कार्यक्रम दुर्छिम स्वास्थ्य चौकीमै गराउने प्रक्रियाको सुरुवात गरेको छ।
सोमबार नगरपालिकाको सभाहलमा बसेको कार्यपालिका बैठकले स्वास्थ्य बिमा कार्यक्रम पहिलो उपचार विन्दुको रुपमा स्वास्थ्य चौकी दुर्छिममा सञ्चलान गर्न उपयुक्त हुने निष्कर्षका साथ स्वास्थ्य बिमा कार्यक्रम सञ्चलान गर्न स्वास्थ्य बिमा बोर्डलाई सिफारिस गर्ने निर्णय गरेको छ।
सरकारले कार्यन्वयनमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सेवा जिल्ला अस्पताल दिक्तेलमा मात्रै हुँदै आईरहेको छ। दुर्छिम स्वास्थ्य चौकीमै उपचार सुरु भएमा नगरपालिकाभित्रका स्वास्थ्य बिमा गरेका मानिसहरु जिल्ला अस्पताल धाउनु नपर्ने नगरप्रमुख बिमला राईले बताउनुभयो।
यस्तै, नगरपालिकाभित्र रहेका अपाङग (ख, ग, घ) एकल महिला तथा एकल पुरुष, विधवा, विधुर र अभिभावक गुमाएका बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न कार्यविधि निर्माण गरी विषयगत शाखामार्फत कार्यक्रमलाई सुचार गर्ने निर्णय भएको छ।
बैठकले नगरपालिकाको प्रवक्ताको रुपमा महादेवस्थानका वडाध्यक्ष कमल गिरीलाई तोककोे छ भने ५ वटा विषयगत समिति पनि गठन गरेको छ।
गठन समिति अनुसार सामाजिक विकास समिति संयोजकमा रुद्र कुमार राई, पूर्वाधार विकास समिति संयोजकमा रुपेन्द्र राई, आर्थिक विकास समिति संयोजकमा किशोर कुमार बस्नेत, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकमा गन राई र सुशासन तथा संस्थागत विकास समिति संयोजकमा टेकराज राई रहेका छन्।