खोटाङ, जेठ १६- जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम दिक्तेल बजारको सडक ढलानको काम सुरु गर्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले निर्देशन दिएको छ।
एक वर्षदेखी दिक्तेलबजारको बीच भागमा सडक ढलानको काम सुरु भए पनि रोकिएको थियो। नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै रोकिएको काम अघि बढाउन निर्देशन दिइएको हो।
दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणी चोकसम्मको सडक ढलान गर्ने ठेक्का सूर्य विकास जेभीले पाएको छ। ठेक्का पाएर काम सुरु भए पनि एक वर्षदेखि काम ठप्प छ। ढलान कार्य स्थगित हुँदा यतयात अवरुद्ध हुनुका साथै पैदल यात्रीलाई समस्या भएको छ।
नगरपालिकामा नवनिर्वाचित प्रमुख तीर्थराज भट्टराईले हप्ता दिनभित्र अलपत्र भएको सडक निर्माण कार्य सुरु नभए कानुनअनुसार कारबाही प्रकृया अघि बढाइने बताए।
“निर्माण कार्य पुनः सुरु गर्न सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गालाई आवश्यक पहल गरिदिन नगरपालिकाले पत्र पठाएको छ,” उनले भने, “अवज्ञा भए कानुन बमोजिम ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउँछौँ।” नगरपालिकाले सूर्य विकास जेभी सिरहा, लाहनलाई लिखित पत्रमार्फत काम सम्पन्न गर्न भन्दै पत्र पठाएको छ।
हालसम्म सडक ढलानको भौतिक प्रगति हेर्दा करिब ६५ प्रतिशत मात्र भएको देखिएको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका आयोजना प्रमुख तुल्सिराम खरबुजाले जानकारी दिए।
आयोजनाले ठेकेदार कम्पनीको असारसम्मका लागि १३ लाख रुपैयाँ हर्जना राखेको जनाइएको छ। आयोजना प्रमुख खरबुजाका अनुसार असारसम्ममा पनि निर्माण कार्य भएन भने ठेकेदार कम्पनी कालो सूचिमा पर्नेछ। “कालो सूचितर्फ जान हामीले बैंकमा ताकेता गरेर निर्माण कम्पनीको जमानत थिच्ने प्रक्रिया पनि अगाडि बढाएका छौँ,” उनले भने।
सूर्य विकास जेभीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको २ करोड ७० लाख बजेटमा (भ्याटसहित) वि.सं. २०७८ चैत ८ गते सम्ममा बजार सडक ढलानको काम पूरा गर्ने गरी वि.सं. २०७८ असार ९ गते सम्झौता गरेको थियो।
निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेसक्याम्पसम्मको खण्डमा गत असोज २२ गते राति ढलान सकेको थियो।
बेस क्याम्पदेखि नेपाल टेलिकमसम्मको सडक ढलान गर्न फराकिलो पार्न थालिए पनि अपेक्षित काम भने नभएको स्थानीयले बताएका छन्।
हालसम्म निर्माण कम्पनीले ९४ लाख रकम भुक्तानी लिइसकेको आयोजनाको कार्यालय ओखलढुङ्गाले जनाएको छ।