खोटाङ- खोटाङमा विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्त बिरुद्ध जाहेरी दर्ता भएको छ।
विद्यालय जाँदै गरेकी ९ वर्षीय बालिकालाई बलात्कारको प्रयास गर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधान विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो।
बिक थरकी पिडित बालिकाकी आमा र ठूलीआमाले शुक्रबार दिक्तेल पुगेर पिडक बिरुद्ध जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवं सुचना अधिकारी शंकरप्रसाद चौधरीले बताए।
कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा ११ जेठमा आफ्नै घर नजिकै यौन दुव्र्यवहारको शिकार भएकी थिईन्।
चिच्याएर प्रतिकार गरेपछि बालिका बलात्कारबाट जोगिन सफल भएको स्थानीयले बताएका छन् । आरोपित फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। पिडकलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउनका लागि भन्दै दिपक ठटाल नेतृत्वको अधिकारकर्मीको टोली शनिबार जिल्ला प्रहरी कार्यालय पुगेको थियो।
स्थानीयका अनुसार छात्राको आमा आफन्तकोमा खेताला गएकी थिईन् । उनका दाजु हातखुट्टा धुन धारामा गएपछि बालिका भने विद्यालय जाँदै थिईन्।
बाटोमा भुवनले रुखबाट स्याउला झारिरहेका थिए। बालिकालाई देखेपछि भुवनले पर्खन लगाएर नजिकै खोल्सीमा लगेर बलात्कार प्रयास गरेको आफन्तले बताएका छन्। कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिईन् तर चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पिडितको भनाई छ। रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना बाहिर सार्वजनिक भएको हो।
घटना लगत्तै पिडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पिडक र पिडित पक्ष राखेर माफ मगाएर मिलापत्र गराइएको थियो।
तर अन्य आफन्तको सल्लाहमा पिडित परिवार इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेका थिए। आरोपितले यसअघि पिडित बालिकाकी दिदिलाई समेत यौन दुव्र्यवहार गरेको आफन्तले दावी गरेका छन्।