खोटाङ, जेठ १४- खोटाङका पूर्वपत्रकार मणिराम दाहालको शंकास्पद मृत्यु भएको भन्दै आफन्तले निष्पक्ष छानविनको माग माग गरेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय दाहालको रहस्यमय मृत्यु भएको भन्दै आफन्तले शनिबार विरोध जुलुस प्रदर्शन गरेका छन्।
दाहालको मृत्युका विषयमा छानविन गरी दोषी पत्ता लगाइनुपर्ने माग सहित आफन्तले जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस निकालेका छन्।
मृतकका आफन्त ‘मणिरामलाई न्याय दे, मोबाईल सार्वजनिक गर, घटस्थास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रशासन पुगेका हुन्।
शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिए पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै नारा जुलुसमा उत्रिएका हुन्। दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्धेश्यीय सहकारीको कार्यालयसँगै रहेको कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए।
घटनाको सर्जमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाइल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन्।
मृतक परिवारले सोही मोवाइल पनि सार्वजनिक गर्न माग गरेका हुन्। घटनाको प्रकृति ‘मृत्यु नभै हत्या भएको’ छोरा नवराजले बताए।
घटनाको विषयमा अहिले जिल्ला प्रशासन कार्यालयमा मृतक पक्ष र प्र्रशासनबीच छलफल भइरहेको छ। दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेका थिए। शव कोठामा खाटमा नभै भुईमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो।
मुखबाट रगत निस्किएको, आँखामा निलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए। दाहाल बस्दै आएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र -याल चुहिएको पाइएको छ। घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्म ढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले बताए। दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य तथा नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह–संयोजक थिए।
उनी क्षितिज बहुउद्धेश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए।