खोटाङमा ट्याक्टरले हानेर एक जनाको मृत्यु भएको छ। दिक्तेलबजारमा लामो समयदेखी मागेर जिवीका चलाउँदै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-५ नेर्पा घर भएका अन्दाजी ३५ वर्षीय गोरखनाथ गेलालको मृत्यु भएको हो।
ना -५ त ६६९१ नम्बरको ट्याक्टरले शनिबार साँझ ठक्कर दिँदा घटनास्थलमै गेलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरीयाले जानकारी दिए।
दिक्तेलस्थित राष्ट्रिय बाणिज्य बैंक नजिकै हिँडिरहेका गेलाललाई तीव्र गतिमा आएको ट्याक्टरले ठक्कर दिएको स्थानीयले बताएका छन्। ठक्कर दिने ट्याक्टर र ट्याक्टरका चालक साकेला गाउँपालिका वडा नम्बर– ४ मात्तिम घर भएका योगेन्द्र कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गेलाललको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा पठाइएको प्रहरीको भनाई छ। उनको शव बुझ्नका लागि आफन्तलाई खवर गरिएको प्रहरीले जानकारी दिएको छ। गेलाल लामो समयदेखी दिक्तेलबजारको सडकमा थिए।
मानसिक सन्तुलन गुमाएका गेलाल दिक्तेलमा अधिकांस मानिससँग पैसा मागेर आफ्नो जीवन धान्दै आएका थिए। गेलालले सबैलाई मामा भन्ने गर्थे, एक स्थानीयले भने,‘उनी सबैका प्रिय भान्जो भएका थिए।’ उनले सबैलाई चिया खानको लागि ‘प्लीज टेन रुपीज’ दिईसो भन्थे ति स्थानीयले भने।
बजारका होटलमा मागेर जीवन धान्दै आएका गेलाल लामो समयदेखी मानसिक रोगी थिए।