काठमाडौं, चैत २२ - उदयपुरको बेलका नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्या आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कवितासँग एकै कक्षामा अध्ययनरत छात्रा साथी र साथीकै दाजु नाता पर्ने १९ वर्षीय एक युवक छन्।
पक्राउ परेका साथीका दाजु भने अर्को विद्यालयमा अध्ययनरत छन्। प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा उनीहरूको संलग्नता पाइएको प्रहरीले जनाएको छ। कविता रामपुरस्थित कोसी जनता माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत थिइन्।
कवितालाई ‘कोचिङ’ कक्षा जाऊँ भन्दै उनकै साथी घरमा बोलाउन आएकी थिइन्। प्रहरीले बोलाउन आएकी साथी र उनका दाजुलाई पक्राउ गरेको हो। विद्यालय जान हिँडेकी कविता यशोदा खोलामा मृत भेटिएकी थिइन्।
उनको शव गाउँलेले देखेका थिए। प्रदेश नम्बर–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले दुईजना पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान जारी रहेको बताए।