
खोटाङ- एसइइ परीक्षामा सामेल हुने विद्यार्थीका लागि भविष्य निर्माणमा थप टेवा दिन अभियान संचालन हुने भएको छ।
खोटाङको सदरमुकाम दिक्तेलमा रहेको हिमालयन आईटी इन्स्टिच्युटले एसइइ उतिर्णपछि विधार्थीमा हुने विषय छनौटको दुविधालाई अन्त्य गराउनका लागि शैक्षिक परामर्शको अभियान संचालन गर्ने भएको हो।
२०७९ बैशाख ९ गतेबाट संचालन हुने एसइइ परिक्षामार्फत उतिर्ण भएपछि विधार्थीलाई माथिल्लो तहको अध्ययनका लागि विषय छनौटमा आउने दुविधा र भ्रमलाई चिर्न तथा सही निर्णय लिन सहयोग पु-याउने उद्धेश्यले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिमा शैक्षिक परामर्श दिने तयारी गरिएको हो।
एक वर्ष अघिबाट सूचना र प्रविधिको क्षेत्रमा काम गर्दै आएको इन्स्टिच्युटले सोमबार होटल शुभदिनमा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरु, पत्रकार र राजनीतिक दललाई राखेर शैक्षिक परामर्शको अभियान संचालन गर्ने विषयमा अन्तक्रिया गरेको छ। एसइइ दिएपछि कुन विषय पढ्ने ? कुन संकाय रोज्ने ? भन्ने आम विधार्थीहरुमा व्यापक दुविधा हुने गरेको छ।
कतिपय अवस्थामा साथीभाइको लहडमा लागेर वा पारिवारिक सुझाव उपर्युत्त नपाएर अलमलमा परेका विद्यार्थीलाई आफ्नो योग्यता र रुचि अनुसारको विषय पढ्नलाई कस्तो विषय छनौट गर्नुपर्छ भनेर रचनात्मक ढंगबाट शैक्षिक परामर्श दिने तयारी गरिएको इन्स्टिच्युटका व्यवस्थापक अजय बस्नेतले जानकारी दिए।
आगामी चैत्र महिनाबाट सुरु गरिने शैक्षिक परामर्श कार्यक्रममा जिल्लाभरीका करिव तीन हजार विधार्थी लाभान्वित हुनेछन्। बस्नेतले भने, ‘करिव ५० वटा शैक्षिक संस्थाहरु समाबेश गर्ने लक्ष्य छ।
शैक्षिक परामर्शले माथिल्लो शिक्षा अध्ययनका विषयमा आवश्यक जानकारी र विषय छनौटमा सहि निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरेका छौं।’
अन्तक्रियामा कालिका मावि नेर्पा, बिद्धोदय मावि दोर्पा, श्री मावि बाँसबोटे, सितला मावि खाल्ले, पञ्च मावि दिक्तेल, दिक्तेल आवसीय बोर्डिङ स्कुल, सावित्रा मावि बाम्राङ, महुरेगढी बहु प्राविधिक शिक्षालय, शुभद्रा-मदन फाउण्डेसन, राजनीतिक दल, पत्रकार महासंघलगायतको सहभागिता थियो।