उत्तम चौलागाँई
खोटाङमा विरामी बोक्न छोडेर एउटा एम्बुलेन्सले गैर कानुनी धन्धा गरेको खुलासा भएको छ। भारतीय भूतपूर्व सैनिक संस्था दिक्तेलको नाममा रहेको सो एम्बुलेन्सले मट्टिमाला र पुलिक खोज्दै हिड्ने व्यक्तिलाई लिएर गाउँ–गाउँमा हिँडेको पाइएको हो।
नेपाल भारत सहयोग लेखिएको स १ च १२४२ नम्बरको सो एम्बुलेन्सले विरामी बाहेकका अन्य व्यक्तिलाई ओसार–पसार गरिरहेको भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले जानकारी दिए।
एम्बुलेन्सले अफ्ट्यारोमा परेका तथा विरामी भएका मानिसलाई बोक्नु पर्ने ठाउँमा दुरुपयोग भइरहेको आधारमा दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर -१ को याम्खा प्रहरी चौकीले मंगलबार बेलुकी नियन्त्रणमा लिएको उनको भनाई छ।
मट्टिमाला र पुलिकलगायतका धातुहरुको खोजी गर्दै हिँड्ने मानिसहरुका लागि सो एम्बुलेन्स प्रयोग भएको भन्ने बुझ्नमा आएको छ।थप अनुसन्धान गर्न बाँकी छ लम्सालको भनाई छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नेर्पा घर भएका चालक प्रेमचन्द्र राईसहित एम्बुलेन्स नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको उनले बताए।
विरामी बोक्ने एम्बुलेन्समा ब्यापार गर्दै के खोज्दै हिड्नुहुन्छ रे भन्ने प्रश्नमा चालक प्रेमचन्द्र राईले भनेका छन्, ‘विरामी सबै सुमोहरुले बोक्छन्। हामीले विरामी बोक्न पाइनौं। हामीले संस्थालाई महिनाको १५ हजार ठेक्का बुझाउनु पर्छ। गाडी मर्मत आफैंले गर्नुपर्छ।’
विरामी बोक्ने शर्तमा सवारी चालक प्रेमचन्द्रलाई एम्बुलेन्स दिएको भारतीय भूतपूर्व सैनिक संस्था दिक्तेलका प्रमुख केशव दाहालले बताए।
उनले भने,‘साथीहरु लिएर गाउँ गएको भन्थ्यो, तर, गैरकानुनी काम गरेको भन्ने सुन्नमा आएको छ। विरामीबाहेक अन्यलाई बोक्न पाइँदैन। आधिकारीक के रहेछ बुझ्ने काम गरिरहेका छौं। उनले भने, ‘मासिक १५ हजार यस संस्थालाई सो एम्बुलेन्सले बुझाउनुपर्छ। त्यही पैसाबाट आफिस संचालन गर्ने गरेका छौं।’
भारतीय राजदुताबासले जिल्लाका विरामीलाई सहजता प्रदान गर्न भारतीय भूतपूर्व सैनिक संस्थालाई २०१५ मा सो एम्बुलेन्स दिएको थियो।
विरामी ओसार -पसार गर्न स्वीकृति प्राप्त गरेको बाहनले अन्य व्यक्तिलाई ओसार पसार गर्न नपाइने कानुनमा उल्लेख छ।