खोटाङमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाईते इन्जिनियरको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाईते बनेका रावाबेँसी गाउँपालिकामा कार्यरत ३० वर्षीय इन्जिनियर दिपक ढुंगानाको अस्पताल लैजाने क्रममा शनिबार राती बाटैमा मृत्यु भएको हो।
ऐसेलुखर्क गाउँपालिका–७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कनेक्रममा प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको मोटरसाइलबाट सडकभन्दा करिब २५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको एम्बूलेन्सबाट काठमाण्डौं लैजानेक्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बोझेओढार पुगेपछि रातको १२ बजे मृत्यु भएको रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए।
ऐसेलुखर्क गाउँपालिकाका हुलास गुरुङले चलाएको मोटरसाइलको पछि बसेको अवस्थामा माक्पाको बाक्चुवा भीरबाट खसेका ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो।
गम्भीर घाईते भएका इन्जिनियर ढुंगानालाई स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार गरेपछि हेलीकोप्टरबाट काठमाण्डौं लैजाने प्रयास भएपनि रात परेकाले असम्भव भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए।
इन्जिनियर ढुंगाना आफ्नो बाईक अर्कैलाई चलाउन दिएर गुरुङको पछि बसेर गाउँपालिका फर्कनेक्रममा दुर्घट्नामा परेका हुन्। बाईक चालक गुरुङलाई बाईक सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए।
चितवनको भरतपुर महानगरपालिका–६ जगतपुरका ढुंगाना दुई महिनाअघि मात्र इन्जिनियरका रुपमा रावाबेँसी गाउँपालिका आइपुगेका थिए। चितवनबाट आफन्त आएपछि पोष्टमार्टम गरेर अव बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।