खोटाङ- खोटाङमा एक घरमा आगोलागी भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर–३ छोरम्बुस्थित गारापुमा विद्युत सर्ट भई आगोलागी हुँदा मैया खत्रीको घर जलेर नष्ट भएको हो।
आगोलागीबाट घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आगोमा परि खत्री गम्भीर घाइते भएकी छिन्। उनको शरिर डढेको छ।
आगोलागी भएको खवर पाउनासाथ सो गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई घट्नास्थल पुग्छन्। मैया आगोमा दनदनी जलेको र घर खरानीमा परिणत भएको हुन्छ। घटना एकाएक भावविहलमा परिणत हुन्छ। राईले तत्कालै आफू चड्ने गाडीमा मैयालाई राखेर उपचारमा पठाउँछन्। मैयाको अहिले उपचार भइरहेको छ।
मैयाका श्रीमान् अगम खत्रीलाई गत असोज २ गते टुवाखोलामा अकस्मात आएको बाढीले बगाएको थियो।
बाढीले बगाएका उनी मृत फेला परेका थिए। श्रीमानको शोकमा रहेकी मैयाको घर र शरिर डढेको छ।