खोटाङ - सूचना र प्रविधि सम्वन्धी शिक्षाका लागि खोटाङको दिक्तेलबजारमा हिमालयन आइटी ईन्स्टिच्यूट स्थापना गरिएको छ।
कम्प्यूटर आइटी कोर्स, अंग्रेजी भाषाको कक्षादेखि एसइईको स्पेशल कोर्स सञ्चालनका लागि दिक्तेलको सरस्वती माबिको गेटमा रहेको पक्की भवनमा हिमालयन आइटी ईन्स्टिच्यूट स्थापना गरिएको हो।
दिक्तेलका युवा व्यवसायी अजय बस्नेत र उषा बस्नेतले स्थापना गरेको ईन्स्टिच्यूट बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन्।
सूचना तथा प्रविधिको व्यवसायीक विकास गर्दै जिल्लामै आइटी सम्वन्धी जनशक्ती उत्पादन गर्ने लक्ष्यका साथ आइटी ईन्स्टिच्यूट स्थापना गरिएको सञ्चालक अजय बस्नेतले बताए। आइटी ईन्स्टिच्यूटमा कम्प्यूटर आइटी कोर्सतर्फ कम्प्यूटर डिप्लोमा, कम्प्यूटर अपरेटर, आइटी अफिस प्याकेज, कम्प्यूटर नेटवर्किङ, ट्याली (एकाउन्टिङ कोर्स), ग्राफिक डिजाईन सम्वन्धी सीप सिकाइने छ।
यस्तै, माइक्रोसफ्ट वर्ड, माइक्रोसफ्ट एक्सल, माइक्रोसफ्ट पावरप्वइन्ट, इमेल-ईन्टरनेट, फोटोशप, फ्रिह्याण्ड, पेज मेकर, सफ्टवेर इन्स्टल, मल्टिमिडिया, नेटवर्किङ सम्वन्धी सिप सिकाइने सञ्चालक बस्नेतले बताए ।
ईन्स्टिच्यूटमा अंग्रेजी भाषा सिकाईतर्फ बेसिक र एडभान्स लेभेलको कक्षा सञ्चालन हुने छन् । एसइईमा अध्ययनरत विद्यार्थीका लागि अंग्रेजी, म्याथ, साइन्स, कम्प्यूटर क्यूबेसिक सम्वन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको सञ्चालक बस्नेतले जानकारी दिए । विदेश जाने र अंग्रेजी जान्दै नजान्नेका लागि पनि विशेष कक्षाको व्यवस्था गरिएको छ ।
हरेक कोर्ससँगै व्यक्तीको व्यक्तीत्व बिकास सम्वन्धी तालिमलाई पनि प्राथमिकतामा राखिएको हिमालयन आइटी ईन्स्टिच्यूटले जनाएको छ । ईन्स्टिच्यूटमा श्रव्य-दृश्य सामग्रीको प्रयोग गरी विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाइने, दक्ष र अनुभवी शिक्षकबाट कक्षा सञ्चालन, एक विद्यार्थी एक कम्प्यूटरको व्यवस्था, प्रयोगशाला लगायतका व्यवस्था गरिएको सञ्चालक बस्नेतले बताए ।
कार्यक्रममा मेयर रिजाल, उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, नेपाल शिक्षक संघका अध्यक्ष शिवहरि ढकाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रम ईन्स्टिच्यूटका प्रोपाईटर उषा बस्नेतले सभापतित्वमा भएको थियो ।



