खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवा जोड्ने दूधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ।
सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले शिलान्यास गरेका हुन्।
संघ सरकारबाट प्राप्त सशर्त अनुदान र नगरपालिकाको गरी ८५ लाख ८२ हजार (भ्याट सहित) मा झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो।
ओखलढुंगा जानआउनका लागि महादेवबेँसी पुगेर नदी तर्न बाध्य सल्लेका नागरिकलाई लक्ष्यित गर्दै टिम्मुरे र पिप्ले जोड्ने पुल निर्माण सुरु गरिएको हो।
झोलुंगे पुल बनेपछि टिम्मुरे र नाल्सु (तलुवा) का स्थानीय बढी लाभान्वित हुने नगरपालिकाले जनाएको छ।
निर्माण कम्पनी नम्बुर अनसुवी अनसुमन जेभीले आगामी असार मसान्तसम्ममा पुरा गर्नेगरी झोलुंगे पुल निर्माणको सम्झौता गरेको हो।
झोलुंगे पुल निर्माणका लागि नगरपालिकाले १९ माघ २०७७ मा टेण्डर आव्हान गरेको थियो। कोभिड–१९ को कारण ढिलागरी पुलको काम अघि बढेको मेयर राईले बताए।