काठमाडौं - काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरमा सामूहिक बलात्कारमा संलग्न थप एकजना पक्राउ परेका छन ।
बुधवार थप एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले जानकारी दिए। फरारमध्ये मुगुका हस्त नेपाली पक्राउ परेका हुन। उनीसँगै पक्राउ गरिएका आरोपीको संख्या ८ जना पुगेको छ।
बलात्कारमा संलग्न सबै आरोपी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। ‘बलात्कारमा संलग्न आरोपी विदेश जाने तयारीमा थिए,’ परिसर काठमाडौंका एसएसपी गिरीले भने, ‘अदालतबाट म्याद लिएर घटनाबारे विस्तृत अनुसन्धान गर्छौँ।’
घटनामा संलग्न ९ जना मध्ये मुगुका चन्द्र साउद अझै फरार छन।
पुस १२ मा सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेष्ट हाउसमा लगेका थिए।
पछि मुगु छायानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई उनले बोलाए।
सो रात मदिरा सेवन गरेर दुई जनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।
भोलिपल्ट बिहान थप ७ जनाले अरु दुईवटा गेष्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ।
क्लोज सर्किट क्यामेरामा देखिएको फुटेजमा बडुवालसँगै ती युवती हिँडेर गेस्ट हाउसमा गएको देखिएको छ।
पुस १३ मा अरु ४ जना आरोपीहरुले उनलाई अर्को गेस्ट हाउसमा लगेको देखिन्छ।
अर्घाखाँची घर भएका गोपाल कुमार श्रीषले अन्तिम पटक बलात्कार गर्ने प्रयास गरेका थिए। त्यतिन्जेल ८ जनाबाट बलात्कारको पिडा खेपेकी युवती अर्धचेत भैसकेकी थिइन ।
त्यसैले आफूले बलात्कार नगरेको र उनलाई ५ सय रुपैयाँ दिएर हिँडेको श्रीषले अनुसन्धान अधिकृतलाई बयान दिएका छन।
श्रीष वैदेशिक रोजगारीका लागि बुधवार कतार उड्दै थिए। पक्राउ परेपछि उनको कतार उड्ने टिकट काम लागेन। विदेशमा गएर कमाउने योजना पनि तत्कालका लागि विफल भएको छ।
सबैभन्दा पहिले पक्राउ परेका हुन्, गोपाल कुमार श्रीष । उनी गोंगबुमा भेटिए । युवती प्रहरीकहाँ पुगेको सुराक पाएपछि ६ जना आरोपी कलंकीमा जम्मा भएका थिए । काठमाडौं परिसरबाट खटिएको टोलीले ६ जनालाई कलंकीस्थित न्यू गण्डकी गेस्ट हाउस एण्ड खाजा घरबाटै पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘६ जना एकै ठाउँमा लुकेर बसेका रहेछन् ।’
आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली र शिवहरि बुढा एकै ठाउँमा लुकेर बसेका थिए ।
बुधवार बिहान पक्राउ परेका मुगुका हस्त नेपाली चाहिँ गोंगबुबाट पक्राउ परेका हुन् । पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौं आएकी हुन् । उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागि काठमाडौं आएको प्रहरीले बताएको छ ।