खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्यकर्मीहरु कोरोना विरुद्धको खोप बोकेर घरघर जाने गरेका छन।
नगरपालिकालाई पूर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउन सिंगो स्वास्थ्य शाखाका टिमनै अहिले घर–घरमा, गाउ–गाउँमा डुलिरहेका हुन।
अहिले असक्त, अपाङग भएकाको प्रत्येक घरघरमा पुगेर स्वास्थ्यकर्मीले भेरोसेलको पहिलो मात्रा दिइरहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले बताए।
गत शनिबारयता १८ वर्षमाथिका ४ हजार ६०३ जनालाई खोप दिने लक्ष्य राखिएकोमा मंगलबारसम्म ४ हजार ७० जनालाई भेरोसेलको पहिलो मात्राको खोप दिइ्एको छ। बाँकी खोप असक्त, अपाङगलाई घरमै र अन्यलाई स्वास्थ्य संस्था तथा खोप केन्द्रबाट दिइनेछ।
हालसम्म यस नगरपालिकामा १२ हजार ११९ जनाले कोरोना विरुद्धको दुबै मात्राको खोप लगाईसकेका छन।

नगरपालिकामा अनुमानित कूल जनसंख्या २४ हजार ३०२ भए पनि १२ वर्षदेखि १७ वर्षसम्मका ३ हजार ४ सय विधार्थीलाई यहि महिना मोर्डना खोप दिन्छौ। संयोजक आचार्यले भने, ‘पुस महिनाभरी १९ हजार ५ सयलाई खोप दिने लक्ष्य छ।’
बालबच्चा र १२ वर्षमूनिकालाई कुनै खोपको व्यवस्था नभएकाले आगामी माघभरी नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउने लक्ष्य रहेको आचार्यको भनाई छ।
घरैमा कोरोना विरुद्धको खोप लाउन पाएपछि बडहरे बुङदेनका ९३ वर्षीया असक्त महिला तिलमाया खत्रीले खुसी व्यक्त गरिन।
आफूले पनि घरमै खोप पाउँदा खुशी लागेको बडहरे घोपाटारका अपांग महिला नारीमाया माझीले बताइन।