काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन्।
काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो यो समाचार आजको राजधानी दैनिकमा छ।
फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटीपीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले बर्डफ्लु पन्छीमा संक्रमण हुने एक प्रकारको भाइरस भएको भन्दै सचेत र सतर्क रहनुपर्ने बताए।
उनले भने, ‘बर्डफ्लु भएको पन्छीको माछामासु खाँदा सर्ने सम्भावना रहन्छ। मासु खाँदा राम्रोसँग पकाएर मात्रै खानुपर्छ।’ कुखुरालगायतका पन्छीपालक कृषकदेखि ओसारपसार गर्ने, कुखुरा किन्न बजारमा घरीघरी गइराख्ने र कुखुरा मार्ने समूह उच्च जोखिममा रहेका हुन्छन्।
चिकित्सकका अनुसार मासु खान मिले पनि बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियसमा मर्ने विभिन्न अध्ययनले देखाएको छ। पकाएको खानेकुरा १०० डिग्रीसम्म पुगेको हुनुपर्छ ।
गत केही दिन अगाडि छिमेकी देश भारतमा बल्र्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुको आयातमा रोक लगाइएको थियो। काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने पशु सेवा विभागले जनाएको छ।