चीनले कोरोना भाइरस (कोभिड–१९) भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको छ।
चिनियाँ वैज्ञानिकले कोभिड–१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका हुन्।
आरटी डटकमका अनुसार ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिकसहितको एक टोलीले कोरोनाका सबै भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको हो।
चिनियाँ वैज्ञानिकको उक्त अध्ययन मंगलबार प्रकाशित भएको हो। अध्ययनअनुसार चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ नामक मोनोक्लोनल एन्टिबडीले कोभिड–१९ का सबै भेरियन्टलाई सखाप पार्न सक्ने उल्लेख छ।
चिनियाँ वैज्ञानिकको दाबी अनुसार ल्याबमा गरिने भिट्रो परीक्षण र जीवित प्राणीमा गरिने भिभो परीक्षणपछि ‘३५ बी ५’ एन्टिबडीले उत्परिवर्तित नभएका र चिन्ताको विषय बनेका उत्परिवर्तित भेरियन्टविरुद्ध प्रभावकारी रुपमा काम गर्ने उल्लेख छ।
मानव कोष प्रत्यारोपण गरिएका मुसामा भिभो परीक्षण गरिएको थियो। ‘३५बी५’ एन्टिबडीले भारतमा भेटिएको निकै संक्रामक डेल्टा भेरियन्टविरुद्ध समेत काम गर्ने वैज्ञानिकले बताएको समाचारमा उल्लेख छ।
‘उत्परिवर्तन हुने भागलाई छल्ने एपिटोप (एन्टिबडी जोडिने एन्टिजेन अणुको भाग)माथि हमला गर्दै ३५बी५ एन्टिबडीले कोभिड–१९ लाई सखाप पार्छ’, अध्ययनमा भनिएको छ। अर्थात् अर्को शब्दमा भन्दा यो एन्टिबडीले उत्परिवर्तन प्रक्रियाका क्रममा कुनै फेरबदल नहुने भाइरसको विशिष्ट भागलाई निशाना बनाउने क्षमता प्रदर्शन गरेको छ।
चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ एन्टिबडीले निशाना बनाउने एन्टिजेन हालै पहिचान गरिएको ओमिक्रोन भेरियन्टमा पनि रहेको अनुसन्धानकर्ताको भनाइ छ ।
त्यस्तै, वैज्ञानिकहरूले पछिल्लो अनुसन्धानको निष्कर्षलाई कोभिड–१९ विरुद्ध सर्वव्यापी खोप विकासमा उपयोग गर्न गर्न सकिने उनीहरुको तर्क छ।
चिनियाँ वैज्ञानिको पछिल्लो अनुसन्धानले विशेषगरी उत्परिवर्तन क्षमता उच्च रहेको ओमिक्रोन फैलिइरहेको अवस्थामा महत्व राख्ने जनाइएको छ।